
इन्टरनेट कम्पनीद्वारा बिनाशुल्क, बिनाजानकारी विद्युत प्राधिकरणको पोल प्रयोग
गोरखाका इन्टरनेट प्रदायक संस्थाहरुले राजस्व नतिरी नेपाल विद्युत प्राधिकरणको पोल प्रयोग गरिरहेका छन् । सदरमुकाम तथा विभिन्न ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा दिने दर्जनौँ संस्थाहरुले बिगत तीनबर्षदेखि राजस्व नतिरेको प्राधिरणको गोरखा वितरण केन्द्रले जनाएको छ ।
सदरमुकाममा सेवा दिइरहेको हिमालयन नेटवर्क प्रालि, होलिडे नेटवर्क प्रालि, ए–वन नेटवर्क प्रालि, पालुङ्टार नगरपालिकामा सेवा दिइरहेको जयवुद्ध केवलनेटवर्क प्रालि, आँबुखैरेनी र आसपासको क्षेत्रमा सेवा दिने लक्ष्मी इलेक्ट्रोनिक्स सेवा प्रालि र मनकामना क्षेत्रमा सेवा दिने मनकामना इलेक्ट्रिक सेण्टरले लामो समयदेखि राजस्व नतिरेको प्राधिकरणले जनाएको छ ।
‘यी पुरानाले पनि राजस्व तिरेका छ्रैनन् । भर्खरै सेवा सुरु गरेका नयाँ सँस्थाहरु त झन दर्ता हुन पनि आएका छैनन्’, गोरखा वितरण केन्द्र प्रमुख नेत्रमणि न्यौपाने भन्छन्, ‘यसअघि प्रतिपोल ५० रुपैयाँका दरले राजस्व तिर्थे । अप्टिकल फाइबर आएपछि प्राधिकरणले प्रतिपोलको हिसाव नभै प्रति किलोमिटरका हिसावले तिर्ने गरी नयाँ दररेट कायम गरे । त्यसपछि उनीहरुले राजस्व तिर्न छोडेका हुन् ।’ आफू सरुवा भएर आएपछि नयाँ इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई प्रयोग भएका पोल तथा प्रशारण लाइन टाँगिएका तारको लम्बाइ इत्यादिको बिबरण पेश गर्न बारम्बार सूचित गर्दा पनि कोही नआएको उनले बताए ।
तर सुविसु नेटवर्क प्रालि, गोरखाका सञ्चालक आत्माराम श्रेष्ठ भने पैसा नतिर्ने नियत आफूहरुको नरहेको बताउँछन् । प्राधिकरणले औपचारिक रुपमा सूचित नगरेका कारण राजस्व तिर्न अलमल भएको उनको भनाइ छ । ‘विद्युत प्राधिकरणले नै यो व्यवस्थाअनुसार कर तिर्नू भनेर विधिवत रुपमा भन्नु प¥यो नि, अनि तिरिहाल्छौँ’, श्रेष्ठ भन्छन्, ‘पोलका हिसावले तिर्ने हो कि, किलोमिटरका हिसाबले तिर्ने हो भन्ने पनि निश्चित भएको छैन । औपचारिक सूचना पनि आएको छैन ।’
कतिपय इन्टरनेट सेवा प्रदायक संस्थाले भने विधिवत जानकारीसमेत नदिई प्राधिकरणको पोलमा धमाधम अप्टिकल फाइबरको तार टाँगेको छ । बजारमा ठूला–ठूला साइनबोर्ड राखेर बसेका वल्र्डलिंक नेटवर्क प्रालि, कनेक्ट नेपाल प्रालि जस्ता संस्थाहरु दर्ता गर्न पनि नआएको र बिना जानकारी प्राधिकरणको पोल प्रयोग गरिरहेको प्राधिकरणका गोरखा वितरण केन्द्र प्रमुख न्यौपानेले बताए ।
मनकामना, आरुघाट, घ्याम्पेशाल, बारपाक, पालुङटार, जौबारी, मकैसिङ, नाम्जुङलगायतका ठाउँमा पनि धेरै इन्टरनेट सेवा दिएका संस्थाले विना जानकारी विद्युतको पोल प्रयोग गरेको न्यौपानेले बताए ।




