लखन थापा र सहयोद्धालाई उचित सम्मान गर
नेपाल सरकारले शहीद लखन थापालाई प्रथम शहीद लखन थापाको राष्ट्रिय मान्यता दिएको छ । लामो समयको मागपछि सरकारी घोषणाले सरोकारवालाले आंशिक न्याय पाएको महशुस गरेका छन् ।
तर माग अझै धेरै छन् । लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ । उनीसित सहादत पाएका अन्य छ जनालाई पनि शहीद घोषणा गर्नुपर्छ । उनीहरुले शहादत पाएको दिन फागुन २ गते सार्वजनिक विदा दिइनु पर्छ । उनले राणा शासन विरुद्ध लड्न निर्माण गरेको लखन किल्लालाई पुनर्जीवन दिनुपर्छ अर्थात त्यसको पुननिर्माण हुनुपर्छ इत्यादि ।
लखन थापा मगरको नेतृत्वमा वि.सं. १९३२ चैतमा जनविद्रोहले सशक्त रुप लिएको पाइन्छ । उक्त जनविद्रोहको सिलसिलामा राणा शासन अन्त्य गरी प्रजातान्त्रिक प्रणाली स्थापना गर्ने र कानून बमोजिम शासन सञ्चालन गर्न राजनीतिक घोषणा पत्र र लिखत तयार पारिएको थियो । विद्रोहमा करिब दुई हजारको संख्यामा जनसेना तयार भएको थियो । जनसेनालाई हातहतियार एवं तालिमको समेत व्यवस्था गरिएको थियो । जङ्गबहादुरको सरकारविरुद्ध लखन थापाको नेतृत्वमा जनसरकारसमेत गठन भएको थियो । त्यतिबेला जयसिंह चुमीलाई जनरलको पदवी दिई जनसेनाको सेनापति बनाइएको थियो भने जुठ्या थापा मगर, बिराज थापा मगर र जीतमान गुरुङलाई जनसेनाको कर्णेल पद दिइएको थियो ।
विद्रोह गरेको अभियोगमा लखन थापा, जयसिंह चुमी मगर, बिराज थापा, जुठ्या थापा, जीतमान गुरुङ, अछामी मगर र अजपसिंह थापालाई वि.सं. १९३३ फागुन २ गते फाँसी दिइएको थियो । राणा शासनविरुद्ध यति ठूलो व्यूह बनाएर लड्ने विशाल छात्ती भएका उनीहरुलाई राष्टिूय सम्मान दिन हिच्किचाउनु पर्ने कुनै कारण छैन । यदि यी कुराहरु तथ्यपरक छैनन् भने थप शोध अनुसन्धान गर्नुपर्छ । यथार्थ बिषय यदि हो भने उनीहरुको सम्मानमा सरोकारवालाहरुको माग पूरा गर्न आनाकानी गर्नुपर्दैन ।




