
सरकारी वकील कार्यालयमार्फत दर्ता भएका एक सय ५७ मुद्दा फैसला हुन बाँकी
जिल्ला सरकारी वकील कार्यालय मार्फत दर्ता भएका एक सय ५७ थान मुद्दा फैसला हुन बाँकी रहेको छ । कार्यालयका अनुसार गत वर्ष जिम्मेवारी सरेर आएका एक सय ७४ र साउन यता दर्ता भएका ३९ मुद्दामध्य एक सय ५७ बाँकी रहेको सुचना अधिकारी दिपा पुनले बताइन् ।
जिल्ला अदालततर्फ गतवर्ष ७५ र तीन महिनाको चालु वर्षको अवधीमा २४ वटा मुद्दा रहेको छ भने जिल्ला प्रशासन कार्यालयमा गत वर्ष जिम्मेवारी सरेर आएका ८७ र अहिलेको १५ थान मुद्दा रहेको छ । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका घटनालाई प्रहरी र सरकारी वकिलको कार्यालयले प्रकृति अध्ययन गरेर जिल्ला प्रशासन वा अदालत कहाँ मुद्दा दर्ता गर्न मिल्ने छ त्यो अनुसार दर्ता गर्ने गर्छन ।
बन तर्फ गत वर्ष १२ वटा मुद्दा थिए भने यो तीन महिनामा मुद्दा दर्ता भएको छैन । बन तर्फको ९ मुद्दा अझै फस्र्योट हुन बाँकी रहेको सुचना अधिकारी पुनले बताईन । साउनदेखि असोज सम्म ३३ मुद्दामा कसुर वा दाबी कायम भएको छ भने १६ वटामा कसुर वा दावी नपुग्ने मुद्दा रहेको सरकारी वकिल कार्यालयले जनाएको छ । मुल्तवीमा एउटा मुद्दा छ ।
सरकारी वकील कार्यालयमार्फत साउनयता जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक शान्तिबिरुद्धको तीन वटा मुद्दा दर्ता भएको छ भने सार्वजनिक हित स्वास्थ्य सुरक्षा नैतिकता बिरुद्धको १० वटा मुद्दा दर्ता भएको छ । अदालत तर्फ साउन, भदौ र असोजको अवधीमा बहुबिवाहको दुईवटा, कर्तब्य ज्यानको दुई, ज्यानमार्ने उद्योगको एक, जबरजस्ती करणीको आठ, करणी उद्योगको एक, बालयौन दुरुपयोगको एक, हाडानाता जवरजस्ती करणीको दुई, चोरीको दुईवटा मुद्दा दर्ता भएको छ ।
यस्तै नबकजनी चोरीको एक, अपराधिक उपद्रव एक, लागु औषधको एक, गौबधको एक र जुवाको दुईवटा मुद्दा अदालतमा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
यी मध्ये गौवध, लागु औषध, नबकजनी चोरी र कर्तब्य ज्याउनको एउटा मुद्दा फैसला भईसकेको छ । अन्य मुद्दा फैसला हुन बाँकी छ ।




