| सोमवार, कार्तिक २३, २०८३

नेपाली कांग्रेस गोरखाद्वारा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम


नेपाली कांग्रेस गोरखाले बिहिवार शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ । १४ औँ महाधिवेशनबाट चयन भएको जिल्ला कार्य समितिले दिपावली, नेपाल सम्वत, छठ लगायत पर्वको अवसरमा चियापान कार्यक्रम गरेको जिल्ला सचिव किशोरजंग थापाले बताए ।


उक्त कार्यक्रममा कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले अन्य पार्टीका नेतृत्वसँग पनि समझदारी गरेर अघि बढ्ने बताएका थिए । ‘बिचार, सिद्धान्त फरक भएपनि समग्र बिकास र सम्वृद्धिका लागि सबै राजनीतिक दल एक ठाउँमा हुनुपर्छ’ उनले भने ।


आम गोरखाबासीको अपेक्षालाई पूरा गर्ने गरी शिक्षा, स्वास्थ्य, रोजगारी, बिकास निर्माणको सवालमा सबै एकै ठाउँमा रहने गरी आफ्नो भूमिका रहने उनले प्रतिवद्धता जनाएका थिए । ‘राजनीतिक दल भनेको सभा सम्मेलन गर्ने मात्र भन्ने सोच छ’, सभापति न्यौपानेले भने, ‘अब यो बदल्नुपर्छ, जनताको पक्ष, विकास, समृद्धि र लोकतन्त्रको पक्षमा काम गर्नुपर्छ ।’


बेलायतको औद्योगिक क्रान्ति सफल हुनुमा कर्मचारीको भूमिका महत्वपूर्ण रहेको उदाहरण दिँदै उनले कर्मचारी संयन्त्र बिवाद रहित बन्नुपर्ने बताए । जिल्लाको हकमा बिकास निर्माण र जनसरोकारको हरेक विषयमा निशर्त सहयोग गर्न कांग्रेस तयार रहेको उनले बताए ।


कार्यक्रममा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, कमला पन्त, प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पालिका स्तरीय समितिका सभापतिहरु, जिल्लाका बिभिन्न तहका नेता कार्यकर्ता, अन्य राजनीतिक दलका नेता, कार्यालय प्रमुखहरुको उपस्थिति रहेको जिल्ला सचिव किशोरजंग थापाले जानकारी दिए । बुधवार अधिवेशनमा पराजितहरुसँग कांग्रेस गोरखाले पहिलो बैठक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्