
६६ औं प्रहरी दिवश : गोरखामा ११ प्रहरी पुरस्कृत, वीरगति पाएका प्रहरीका परिवारलाई सम्मान
जिल्ला प्रहरी कार्यालय गोरखाले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई पुरस्कृत गरेको छ । साथै वीरगति पाएका प्रहरीका परिवारलाई पनि सम्मान गरेको छ । ६६ औं प्रहरी दिवसका अबसरमा बुधबार आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने ११ प्रहरीलाई पुरस्कृत गर्नुका साथै विरगति पाएका ७ प्रहरीका परिवारलाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेमा प्रहरी नायव निरीक्षक कान्छामान स्याङ्तान, मिलन पन्थ, प्रहरी सहायक निरीक्षक दीपेन्द्र गुरुङ, हबल्दार गंगाबहादुर भण्डारी, अमरबहादुर दर्लामी, महेन्द्र राम्जाली, राजकुमार शाही र यमबहादुर थापा, प्रहरी जवान विनय बस्नेत, रवीन्द्र पोखरेल र दुर्गा डाँगी छन् । पुरस्कृत हुनेहरुलाई प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले नगद पुरस्कार प्रदान गर्नुभएको हो ।
विरगति प्राप्त प्रहरीका परिवारबाट सम्मानित हुनेहरुमा सिरानचोक गाउँपालिका ५ की प्रमिला घिमिरे, बारपाक सुलिकोट ८ की सरिता पुडासैनी, शहिद लखन गाउँपालिका ८ की कमल नेपाली, गोरखा नगरपालिका ६ की जसमाया गुरुङ, पालुङटार नगरपालिका ९ की सुर्यकुमारी कँबर, गोरखा नगरपालिका ८ की भुलमाया गुरुङ र गोरखा नगरपालिका ६ की जंगकुमारी श्रेष्ठ रहेका छन् । उहाँहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै, जिल्ला प्रहरी कार्यालयलाई सहयोग गर्ने गोरखा नगरपालिकाका हरी श्रेष्ठ, हरीहर श्रेष्ठ र संगम आलमलाई पनि सम्मान गरिएको छ ।
कार्यालयका निमित्त प्रमुख डिएसपी प्रकाश दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्य, गोरखा नगरपालिका वडा नं ६ का अध्यक्ष नारायणप्रसाद अर्याल, पुर्व प्रहरी नारायणभक्त अर्याल, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष कैलाशबाबु श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त थिए । कार्यक्रमका बक्ताहरुले गोरखा प्रहरीको कार्यसम्पादनको प्रशंसा गरेका थिए ।
प्रहरी दिवसकै अबसरमा यसअघि रक्तदान, सरसफाई, तपाईको मास्क खै कार्यक्रम भएको प्रहरी निरीक्षक धर्म अधिकारीले बताए । २००७ सालमा नेपाल प्रहरीको स्थापना भएपनि नेपाल प्रहरीले २०१२ को प्रहरी ऐनलाई आधार मानेर प्रहरी स्थापना दिवश मनाउँदै आएको छ ।




