
नेपाली कांग्रेसको १४ औँ जिल्ला अधिवेशन : सभापतिबाहेक सबै पदमा निर्वाचन, सदस्यहरु अधिकांश सर्वसम्मत,
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको गोरखा जिल्ला अधिवेशन मंगलबार पनि जारी छ । सोमबारदेखि सुरु भएको अधिवेशनको मतदान कार्यक्रम सम्पन्न भए पनि मतगणना भने अझै चलिरहेको नेपाली कांग्रेस गोरखाले जनाएको छ ।
तीनधारेस्थित विपी गणेशमान स्मृति भवनमा सुरु भएको अधिवेशनको निर्वाचन कार्यक्रम भने हरमटारीस्थित कवर्ड हलमा भएको हो । क्षेत्र नं. १ का १०४३ र क्षेत्र नं. २ का ७०२ गरी १,७४५ जना मतदाताका लागि बिहान आठ बजेदेखि मतदान सुरु गर्ने भनेर निर्वाचन समितिले पूर्व सूचना गरेको थियो । तर १२, १ बजेसम्म मतपत्र छपाइ भएर मतदानस्थलमा आएको थिएन ।
मतदाताहरु चर्को घाममा अधैर्य भएर लाइनमा बसिरहेका थिए । चार घण्टा लाइनमा बस्दा पनि मतदान सुरु नभएपछि उनीहरु सितलका लागि कवर्डहलको छहारी खोज्दै गएका थिए । व्यवस्थापनको अस्तव्यवस्तताले कवर्डहलको छायामा अत्याधिक भीडभाडका बाबजुद अपरान्ह दुईबजेबाट मात्र सुरु भएको थियो ।
अस्तव्यस्ताका कारण दिक्क भएर कतिपय मतदाता मतदान नै नगरी फर्किएको दृश्य पनि देखिएको थियो । साँझ अबेर सम्पन्न भएको मतदान कार्यक्रममा करिब १५५० जनाले मतदान गरेका निर्वाचन अधिकृत देवकुमार महतले जानकारी दिए ।
क्षेत्रीय अधिवेशनको मतदानमा उपस्थित भएका जति मतदाता जिल्ला अधिवेशनको मतदान कार्यक्रममा भने उपस्थित भएनन् ।
अधिकांश पद सर्वसम्मत :
अधिवेशनले जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपानेलाई निर्विरोध निर्वाचित गरेको थियो । उपसभापति, सचिव र सहसचिवमा भने मंगलबार निर्वाचन भएको छ । त्यस्तै सदस्यहरु अधिकांश निर्विरोध निर्वाचित भएका छन् ।
गोरखा नगरपालिकाको महिला सदस्यतर्फ रञ्जिला श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् । पालुङ्टार नगरपालिकाबाट चेतकुमारी श्रेष्ठ, बाबुकाजी कार्की र भवेन्द्रजंग थापा सर्वसम्मत चयन भएका छन् ।
अजीरकोट गाउँपालिकाबाट गौरी तामाङ र रेशमबहादुर गुरुङ, आरुघाट गाउँपालिकाबाट पूर्णकुमारी गुरुङ सर्वसम्मत चयन भएका छन् । खुल्लामा चुनाव भएको छ । गण्डकी गाउँपालिकाबाट रजनी मिया र दिनेश पन्त, चुमनुब्री गाउँपालिकाबाट जोनिशा गुरुङ र ताञ्जिन ग्याल्जेन लामा, धार्चे गाउँपालिकाबाट लालमाया गुरुङ र विश्वकुमार गुरुङ, बारपाक सुलीकोटबाट अम्बिकादेवी थापा सर्वसम्मत चयन भएका छन् । खुल्लामा चुनाव भएको छ । त्यस्तै भीमसेन थापा गाउँपालिकाबाट अमृतादेवी वस्ती, सहीद लखन थापा गाउँपालिकाबाट कविता ढकाल दुवाडी र दिलिपनारायण थापा, सिरानचोक गाउँपालिकाबाट शिला दवाडी र कृष्णप्रसाद ढकाल सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै अपांग वा अल्पसंख्यकबाट ओमहरि घले, समानुपातिकतर्फ महिलाबाट मिरादेवी दाहाल, सिर्जना कोइराला सर्वसम्मत चयन भएका छन् । त्यस्तै आदिवासी जनजाति महिलातर्फबाट टिका श्रेष्ठ, मिना कुमाल, मिनादेवी श्रेष्ठ र रमा गुरुङ, आदिवासी जनजाति खुल्लातर्फबाट पदमबहादुर थापा मगर, भगवानबाबु मास्के, शिवकुमार श्रेष्ठ, सागर गुरुङ र हिराबहादुर थापा सर्वसम्मत चयन भएका छन् । त्यस्तै दलित महिलातर्फबाट सोविता परियार चयन भएकी छिन्, दलित खुलामा चुनाव भएको छ त्यस्तै अपांग वा अल्पसंख्यक वा मुस्लिमतर्फबाट अलिउल्लाह मिया, खसआर्य खुल्लातर्फबाट बलराम खड्का, राजेश्वर अम्गाई, रामशरण अधिकारी र जिल्ला अधिवेशनबाट अपांगमध्य महाधिवेशन प्रतिनिधिमा परशुराम भट्ट र प्रदेश प्रतिनिधिका लागि अपांगमध्यबाट दण्डपाणि ढकाल र मोहनप्रसाद धिताल सर्वसम्मत चयन भएका छन् ।
विभिन्न पदमा चुनाव
सभापतिबाहेकका पदाधिकारीमा भने चुनाव भएको छ ।
उपसभापतिको दुईवटा पदमा इमानसिँह बस्नेत, धिरन थापा, रविकला खनाल, सिपि पोखरेल र हरिबहादुर गान्धारी बीच चुनाव भएको हो । त्यस्तै सचिवको दुई पदका लागि ओमबहादुर गुरुङ, किशोरजंग थापा, कृष्णबहादुर आले, तारानाथ पुडासैनी र रामप्रसाद भण्डारी बीच चुनाव भएको छ । त्यसैगरी सहसचिवको दुई पदका लागि कमलप्रसाद अम्गाई, गंगाप्रसाद अधिकारी(गगन), दीपक हमाल, भेजराज पाण्डे, मानप्रसाद धिताल, रामशरण आचार्य, लुमनाथ लामिछाने र विश्व भट्ट बीच चुनाव भएको छ ।
पदाधिकारीको चुनावी मैदानमा एक मात्र महिला प्रतिष्पर्धी देखियो ।
विभिन्न पदमा शीर्ष नेताहरुको पद सुरक्षित देखियो ।
चुनावी दौडमा नयाँ पुस्ता र पुरानो पुस्ताको प्रतिस्पर्धा देखियो । उदारो आश्वासनमा धेरैजनालाई चुनावी प्रतिस्पर्धामा भाग लिनबाट बञ्चित गरेको पनि धेरै देखियो । स्थान दिँदा पनि योगदानकेन्द्रित भन्दा पनि व्यक्तिकेन्द्रित भएको दृश्य देखियो ।
धार्चे र चुमनुब्री गाउँपालिकालाई भोट वैँक ठानी प्राय सबै नेताको ध्यान त्यस पालिकाका मतदाता तान्नमा केन्द्रित देखियो । मत माग्दा मतदातासित भन्दा उनीहरुका अगुवालाई मात्र ध्यान दिने गरेको देखियो । केही मतदाता सुरक्षित गरिदिने प्रलोभन देखाइ कतिपय अगुवाले ‘हाइडिमाण्ड’ गरेको पनि देखियो ।
महाधिवेशनमा पराजित भएपनि जिल्ला कार्यसमितिमा उम्मेद्वारी दिन पाउने भन्ने सूचना ढिला गरी आएकाले कतिपयले उम्मेद्वारी दिन पाएनन् । केन्द्रीय शीर्ष नेताको लबीको आधारमा एकातर्फी मान्छे जिताउने तीब्र प्रयास भयो । सफल नभएपछि साँठगाँठ गरेको दृश्य पनि देखियो । केही बाहेक कतिपय नेता भने अधिवेशन अवधिभर गुट उपगेटमा खुल्न चाहेनन् । सबैको समर्थक बन्न खोजे जस्तो देखियो । महाधिवेशन प्रतिनिधिमा जित्नेहरुलाई गुटका नेताहरु सबैजसोले आफ्नो गुटको हो भनी दाबी गर्ने गरेको पनि देखियो ।
क्षेत्रीय अधिवेशनमा जस्तै जिल्ला अधिवेशनमा सहभागी भएकाहरुबाट स्वास्थ्य सुरक्षा मापदण्डको धज्जी उँडाइएको थियो । कोही हात मिलाउने, कोही अंकमाल गर्ने लगायतका गतिविधि प्रसस्तै देखिएका थिए । भीडभाडका कारण भौतिक दुरी कायम भएको थिएन ।




