
मल वितरणको जिम्मा सबै पालिकालाई
आशिषकुमार भट्ट : गत वर्षदेखि कृषि ज्ञान केन्द्रले मल वितरणको सबै जिम्मा सम्बन्धित पालिकालाई दिएको छ । यस अघि सबै ठाउँका कृषि सहकारीहरुलाई आवश्यक मल कृषि ज्ञान केन्द्रले उपलब्ध गराउँदै आएको थियो । ‘कृषि ज्ञान केन्द्रबाट ज्ञानका कुराहरु मात्र बाँढिने, सिप तथा तालिमहरु उपलब्ध गराउने, माटो परिक्षण र बालीमा लाग्ने विभिन्न रोगहरु निराकरण गर्ने तिरमा मात्र ध्यान दिनेछ’ ज्ञान केन्द्रका सुचना अधिकारी भवननाथ देवकोटाले बताए ।
गोरखा नगरपालिकाले यस आर्थिक वर्ष २०७८÷७९ भादौ २० गते सम्म ३५मे.टन युरिया, २७.५ मे.टन डिएपी, १३.५ मे.टन पोटास मल आपूर्तिका लागि सिफारिस गरेको छ । नगरपालिकाका १४ वटै वडामा रहेको कृषि सहकारी, अन्य सहकारी एवं फर्मलाई अनुमति दिएको कृषि शाखा अधिकृत नविन अधिकारीले बताए । साल्ट ट्रेडिङ कर्पोरेशन चितवनलाई युरिया ३०० बोरा, डिएपी २५० बोरा र पोटास ७० बोरा रासायनिक मल आपूर्तिका लागि सिफारिस गरेको छ भने कृषि सामग्री कर्पोरेशन विरगंजलाई युरिया ४०० बोरा, डिएपी ३०० बोरा र पोटास २०० बोरा रासायनिक मल आपूर्ति गर्न सिफारिस गरेको छ ।
बारपाक सुलिकोटमा जम्मा २ वटा सहकारीले अनुमति पाएको बारपाक सुलिकोट गाउँपालिकाका कृषि अधिकृत विनोद विश्वकर्माले बताए । ताकुकोट कृषि सहकारी संघ लिमिटेड र उपभोक्ता कृषि सहकारी संघ लिमिटेडले अनुमति प्राप्त गरेको हो । १६ सय बोरा युरिया, १२० बोरा डिएपी र २७ बोरा पोटास रासायनिक मल सिफारिस गरेको विश्वकर्माले बताए ।
भिमसेनथापा गाउँपालिकाले योे आर्थिक वर्ष जम्मा ६ वटा कृषि सहकारीलाई मल वितरणको लागि अनुमति दिएको छ । जसमध्ये एक ऋण सहकारी पनि रहेको छ । युरिया मल बोराको रु.११०० र डिएपीको जम्मा रु.२४५० प्रति बोरा रहेको सोही गाउँपालिकाका कृषि अधिकृत प्रविन लामिछानेले बताए । हालको मितिसम्म सिर्जनशील कृषि सहकारी संस्थाले मात्र जम्मा १५० बोरा मल लेराएको छ भने अरु प्रक्रियारत रहेको उनले बताए ।
शहिदलखन गाउँपालिकाले जम्मा ८ वटा कृषि सहकारीलाई मल वितरणको लागि अनुमति दिएको छ । ‘बाटो पानी परेर बिग्रिने र भनेको बेला नआइनपुग्ने भएकोले किसानहरु वर्षायाम भन्दा अगाडी नै बजारबाट सिधै मल लेराएर स्टोर गरेर राख्छन्’ कृषि अधिकृत ऋषि रोकाले भने । जम्मा ६५० टन युरिया, २२५ टन डिएपी र ३५ टन पोटास भए सम्पुर्ण पालिकालाई पर्याप्त हुने उनले बताए । माग पुर्जी देखाएर खेति योग्य जमिन कति छ त्यो हेरेर सोही अनुसार मलको बाडफाँड गर्दै आएको उनले बताए । कार्यपालिकाको निर्णय अनुसार यो आर्थिक वर्ष युरिया बोराको रु.११००, डिएपी बोराको रु.२७०० र पोटास रु. २९५० मूल्य निर्धारण भएको छ ।
सिरानचोक गाउँपालिकामा भने जम्मा ४ वटा कृषि सहकारीले मल वितरणको लागी अनुमति पाएको छ । युरिया मल जम्मा २५० बोरा, ३४ टन डिएपी र १६ टन पोटास माग भई आएको कृषि अधिकृत शारखा थापाले बताइन ।
आरुघाट गाउँपालिकाले जम्मा ५ वटा सहकारीलाई अनुमति दिएको छ । एउटा वडा एउटा सहकारी बनाउने उद्देश्य रहेको कृषि अधिकृत सुजन दवाडीले बताए । ११०० बोरा युरिया, ५५ मे.टन डिएपी र पोटास सिफारिस गरेको उनले बताए ।
‘साल्ट ट्रेडिङ कर्पोरेशन चितवनबाट राम्रो मल नपाएकोले यो वर्ष त्यहाँबाट मल माग गरेको छैनौ’ उनले भने, ‘मल पनि भनेजति नआउने र गुणस्तर पनि राम्रो नलागेकोले हामीले त्यहाँबाट नल्याउने विचार गरेका छौ ।’
गण्डकी गाउँपालिकाले जम्मा ७ वटा सहकारीलाई अनुमति दिएको कृषि अधिकृत कृष्ण प्रसाद भट्टराईले बताए । वडा नं ७ र ८ मा ३ वटा सहकारीले धेरै माग गरेको बताएका छन् ।




