| सोमवार, कार्तिक २३, २०८३

गोरखा कांग्रेसको क्षेत्रीय अधिवेशन : युवा पुस्ताको बाहुल्यता, गुट अस्पष्ट, पहिलो बन्ने होड, तडकभडक बढि

शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन शनिवार सकिएको छ । अधिवेशनको पहिलो दिन शुक्रबार क्षेत्र नं. १ र क्षेत्र नं. २ को केही पदबाहेक सभापति, सचिव लगायतका पदमा निर्विरोध चयन भएका छन् ।


शनिवार सबैको ध्यान क्षेत्रिय समिति भन्दा पनि महाधिवेशन प्रतिनिधिमा केन्द्रित थियो । क्षेत्र नम्बर १ मा ५८ र २ मा ६८ गरी ५० जना प्रतिनिधिका लागि एक सय १९ जनाले उमेद्वारी दिए ।


महाधिवेशन प्रतिनिधि लगायतका केही पदमा भने शनिवार मतदान भएको छ । बिहान करिब ९ बजेतिरबाट मतदान सुरु भएको थियो । मतदान सुरु हुनु अघिदेखि नेता कार्यकर्ता, मतदाता नेपाली कांग्रेसको पार्टी कार्यालय तीनधारे र निर्माण ब्यवशायी संघको कार्यालयमा हरमटारीमा भेला भईसकेका थिए । कांग्रेसको १३ औँ अधिवेशनभन्दा निकै भिन्न र फरक देखिएको कार्यकर्ता र स्वय नेताहरुले पनि बताइरहेका थिए ।


क्षेत्रीय अधिवेशनको आसपास र मतदानको दिनमा बजारमा र मतदान स्थलमा रोचक दृश्यहरु देखिए ।


उम्मेद्वारका लागि अधिवेशन(चुनाव) खर्चालु :


१४ औँ अधिवेशन कांग्रेसका विभिन्न पदका उम्मेद्वारका लागि धेरै खर्चालु बनेको छ । विशेषगरी महाधिवेशन प्रतिनिधिका उम्मेद्वारहरुले मतदातालाई खुसी पार्न धेरै खर्च गरेका छन् । उम्मेद्वारले हाते झोला बाँडे । पानी बितरण गरे । हेल्थ डेक्स, हेल्प डेक्स पनि बनाए । दुबै निर्वाचन क्षेत्रको मतदान स्थल वरपरका घरहरु ब्यानरले छपक्कै थिए । भिजिटिङ कार्ड, पर्चा पम्पलेट पनि सबैजसोको थियो । उम्मेद्वार हरुले मतदातालाई खाजा, खानाको प्रबन्ध पनि मिलाएका थिए । प्रचारमा युवाहरु खटिएका देखिन्थे । उनीहरुको बसाई, खानपानको ब्यवस्था उम्मेद्वार स्वयमले मिलाएका थिए । कतिपयलाई गाडी खोजिदिने, इन्धनको ब्यवस्था समेत गरिदिने जिम्म उम्मेद्वार लाई परेको थियो । यस्ता दृष्यले उम्मेद्वार को खर्चको आँकल गर्न सहजै सकिन्छ ।


स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएन :


देशभर कोरोना महामारीको त्रास अझै हटिसकेको छैन । कोरोनाबाट बच्न भौतिक दुरी कायम राख्नुपर्ने वाध्यकारी व्यवस्था छ तर कांग्रेसको क्षेत्रीय अधिवेशनका सहभागीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको देखिएन । कोरोनाको त्रास पन्छ्याएर कोही अंगालो मारिरहेको देखिन्थ्यो, कोही हात मिलाइरहेको देखिन्थ्यो । कसैको नाक, मुखमा मास्क थियो, कसैकोमा थिएन । कतिपय सहभागीहरु समुहमा बसेर एउटै भाँडोमा खानेकुरा खाएको पनि देखियो । यसले कतै कोभिड १९ निर्मुल भएको पो हो कि जस्तो झल्को दिन्थ्यो । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सबालमा कांग्रेसका नेता कार्यकर्ता, उम्मेद्वार कमजोर देखिए ।

उम्मेदवार र मतदातामा स्पष्ट गुट देखिएन :


महाधिवेशनको चरणमा रहेको नेपाली कांग्रेस पार्टीको केन्द्रमा चार भन्दा धेरै गुट देखिएको छ । केन्द्रमा जति गुट देखिए पनि प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र स्तरको निर्वाचनमा भने स्पष्ट गुट देखिएन । जिल्ला स्तरका नेताहरु महाधिवेशन प्रतिनिधिमा पक्ष बिपक्ष भन्दा पनि सबै ब्यक्तिगत सम्बन्धमा नजिक रहेको देखियो । जिल्लाका शीर्ष नेताहरु महाधिवेशन प्रतिनिधिको चुनावमा देखिने गरी कित्ता काटमा लागेनन् । कारण थियो ः एक अर्कोको बिरोध गर्दा आफै गुल्टिने डर । त्यसैले कोही कसैलाई हराउनका लागि भन्दा पनि शीर्ष नेताहरु महाधिवेशन प्रतिनिधिमा आउनै पर्छ भन्ने मान्यता राखे झैँ गरी लागेको पाइयो ।


भलै नेताहरुले आपूm निकटकालाई अनुकूलको सूची बितरण भने गोप्य रुपमा गरेका थिए । रमाईलो दृष्य त के थियो भने छिनछिनमा फरक फरक सूची मतदाताको हातमा पुग्थ्यो । सबै सूचीमा केन्द्रमा देखिएको गुटको प्रभाव थिएन । फरक गुटका नेताहरुको नाम एउटै सूचीमा मिसमास देखिन्थ्यो । उम्मेद्वारलाई सान्त्वना र मतदातालाई भ्रम हुने लिस्ट दुबै क्षेत्रको मतदान स्थलमा देखिन्थ्यो । केन्द्रीय सदस्य र जिल्ला नेताहरु गुट खुल्ने गरी उम्मेद्वार को प्रचारमा भने देखिएनन् ।

पहिलो हुने होड :


महाधिवेशन प्रतिनिधिमा बिजयी भएर मात्र नहुने नाम चलेका नेताहरुको अभिब्यक्ति सुनियो । नेता उक्साउँदै कार्यकर्ताहरु भन्दै थिए, ‘दाईलाई पहिलो बनाउनुपर्छ ।’ केही उम्मेद्वार भने ‘म्यान अफ द इलेक्सन’ हुने घोषणा गर्दै थिए । ‘सबैको भन्दा धेरै मत कसरी आउँछ’ भनेर मतदातालाई कन्भिन्स गराइरहेका देखिन्थे । धेरै मत ल्याएर जित्ने चाहनामा केही थिए भने अधिकांशलाई प्रतिनिधि भए पुग्ने अपेक्षा देखिन्थ्यो ।

प्रचार–प्रसारमा तडक–भडक :


बिगत अधिवेशन भन्दा यस अधिवेशनको प्रचार प्रसारमा निकै तडकभडक दिएको थियो । मतदान स्थलको वरपरको वातावरण मेला महोत्सवको भन्दा कम्ती थिएन । आम चुनाव भइरहेको जस्तो देखिन्थ्यो । माहौल देखेर सर्वसाधारण पनि दंग थिए । भित्ता, घरको छत, गाडीमा झण्डा, ब्यानर, पम्प्लेट, पर्चा टाँगिएको थियो । कसैले साउण्ड सिस्टम बजाएर, कसैले पत्रपत्रिकामा विज्ञापन छपाएर प्रचारप्रसार गरेका थिए । मतदानस्थलभरि युवा, युवतीहरु उम्मेद्वारको थरिथरिएको पोष्टर घाँटीमा झुड्याएर उभिएका थिए । प्रचार प्रसारका लागि कसैले झोला बाँडेका थिए, कसैले प्रचार सामग्रीसहितको मिनरल वाटर बाँडेका थिए । फरक फरक शैली उम्मेद्वार ले अपनाएका थिए ।

युवा पुस्ताको बाहुल्यता :


यसअघिका अधिवेशनमा ज्येष्ठ नेतृत्वको बाहुल्यता धेरै देखिने गरे पनि यसपटकको अधिवेशनमा युवा पुस्ताको सहभागिता अधिक देखियो । ५० प्रतिशत भन्दा धेरै उम्मेदवार र प्रतिनिधि युवा थिए । चुनाब प्रचार प्रसारमा त ९० प्रतिशत युवा, युवती देखिन्थे । युवाहरु आफ्नो उम्मेद्वारको पक्षमा भोट माग्न दिनभरि लाईनमा बस्ने, प्रचार गर्ने गरिरहेका थिए ।


भोट दिन मतदातामा अलमल :


महाधिवेशन प्रतिनिधि र क्षेत्रीय समितिको पनि केहि पदमा चुनाव भएको थियो । मत पत्र धेरै र फरक फरक थियो । दुर्गम गाउँबाट आएका मतदाता कसरी भोटिङ गर्ने भन्नेमा अलमलमा थिए । कतिपय मतदाताले सहयोगी राखेर पनि मत हाले । मतपत्र मतदातामैत्री देखिएन । कम पढालेखा भएका मतदाताले भोट हाल्न अरुलाई नै मतपत्र सुम्पिएको धेरै देखियो । मतदान गरेर फर्केकाहरु आफु झुक्किएको, अलमलिएको, अरुको सहयोग लिएको अनुभव एक अर्कासँग साँट्दै थिए ।


मतदानस्थल मतदातामैत्री भएन :


नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र क्षेत्रीय समितिको निर्वाचन गरिएको क्षेत्र नम्बर १ को मतदान केन्द्र तीनधारेस्थित पार्टी कार्यालय मतदातामैत्री देखिएन । बाटो साँघुरो थियो । त्यहीँ खचाखच उभिनुपर्ने अबस्था, त्यहीँ प्रचार गर्नेको भीड । खुल्ला ठाउँ अभावका कारण मतदाता, नेता कार्यकर्तालाई मतदान स्थल पुग्न धौ, धौ थियो । एक हजार भन्दाबढि मतदाता, अन्य गरी करिब १२ सय हाराहारी मानिस तीनधारेमा खचाखच देख्दा उकुसमुकुस लाग्दो देखिन्थ्यो ।


क्षेत्र नम्बर २ को मतदानकेन्द्र पनि खुल्ला ठाउँमा थिएन । निर्माण ब्यवशायी संघको भवनमा मतदाताले साँघुरो महशुस गरे । सातसय मतदाता, अन्य नेता कार्यकर्ता, प्रचारमा खटिएकाहरु गरी एक हजार भन्दाबढी मतदान स्थलमा थिए । त्यहाँ मतदान गर्न जानेहरुलाई समस्या भएको थियो । निकै भिडभाड थियो ।


सवारी व्यवस्थापन अस्तव्यवस्त, ट्राफिकलाई हम्मे :


कांग्रेस नेताहरु धेरैले नीजि सवारी प्रयोग गरेका थिए । दुवै मतदानकेन्द्रको दृश्य हेर्दा उनीहरुको सवारी व्यवस्थापन भद्रगोल थियो, जसले गर्दा मतदाता वा निर्वाचन हेर्न पुगेका कांग्रेसका शुभेच्छुक, शुभचिन्तकलाई मतदान स्थल पुग्न हम्मे थियो । त्यहाँ आउनेजाने सवारी साधन ब्यवस्थापन गर्न ट्राफिकलाई पनि समस्या थियो ।


तीनधानेमा रहेको क्षेत्र नं. १ को मतदानकेन्द्र सवारी साधनको चाप अत्याधिक भएपछि ट्राफिक प्रहरीले ठूलो आँगनदेखि तीनधारे जाने सडकमा चारपाङ्ग्रे सवारी जान रोक लगाएको थियो । आयुर्वेदिक चोकदेखि निर्माण व्यवसायी संघको हलमा रहेको क्षेत्र नं. २ को मतदानकेन्द्र जाने सडक पनि चारपाङ्ग्रेका लागि बन्द थियो । गोरखा बजारको ट्राफिक ब्यवस्थापनमा प्रहरीलाई चुनौती थियो ।
प्रचार सामग्री तत्काल हटाइयो


दुवै क्षेत्रको मतदानकेन्द्रमा टाँगिएको व्यानर, पोष्टर, पम्प्लेटका कारण ती क्षेत्र यति अस्तब्यस्त देखिन्थे कि, यी प्रचार सामग्री सम्बन्धित नेता, कार्यकर्ताले हटाउलान् कि यत्तिकै छाड्लान् भन्ने आम जनमानसमा पिरलो थियो ।


तर जब मतदान समय सकियो, नेता, कार्यकर्ताहरु प्रचार सामग्री सफा गर्न खटिए । उनीहरुले प्रचार सामग्री सरसफाइ गरेर दुवै मतदानकेन्द्र सिनित्तै पारे ।

प्रतिक्रिया दिनुहोस्