
जेष्ठ नागरिक दिवस : ‘जीवनसँग सन्तुष्ट होइन, महासन्तुष्ट छु’
केलाउने हो भने जीवन सबैको विशेष हुन्छ । तैपनि बिरलै मान्छेको मात्र यति धेरै चुनौति र अवसरहरु प्राप्त गरेका हुन्छन् । तीमध्य एक हुन्, गोरखा नगरपालिका ६ पाटेचौरका मित्रलाल श्रेष्ठ ।
वाल्यकालदेखि भजन, कीर्तनमा रम्ने उनको जीवनको ८६ औँ वसन्त पनि अहिले भजन, कीर्तन र सत्संग गरेर बितिरहेको छ ।
तिनताका गोरखामा प्रवेशिका दिने चलन थिएन त्यसैले उनले गोदावरी हाइस्कूलबाट प्रवेशिका पूरा गरे ।
२०१२ सालको फागुनमा कन्स्टेबलबाट प्रहरी सेवामा प्रवेश गरे । प्रहरी सेवामा काम गरिरहँदा २०१५ सालमा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री भए, लोकसेवा आयोग गठन गरे । २०१७ सालमा उनले गोस्वाँराको बहिदारको लोकसेवा परीक्षा दिए, एक नंबरमा नाम निस्कियो । त्यहाँ एकबर्ष काम गरेपछि २०१८ सालमा मुखियाको लोकसेवा परीक्षा दिए, पहिलो नंबरमै नाम निस्कियो । फेरि २०१९ सालमा खरिदारको लोकसेवा दिए त्यसमा भने तेस्रो नंबरमा नाम निस्कियो ।
फेरि २०२४ सालमा नायव सुब्बाको लोकसेवा परीक्षा दिए त्यहाँ पनि नाम निस्कियो । फेरि २०३२ सालमा शाखा अधिकृतको परीक्षा दिए, त्यसमा पनि सफलता हाँसिल गरेपछि उनको ‘अफिसर’ जीवन सुरु भयो । बहिदार, खरिदार, सुब्बाको रवाफ र हैकम चर्को हुने समयमा उनले अफिसरको करिअर सुरु गरेका थिए ।
उनले खम्पा बिद्रोहीको पुनर्वास कार्यालयबाट हाकिमे जीवन सुरु गरे । देशका विभिन्न जिल्लामा अञ्चलाधीश कार्यालय, सडक बिभाग, मालपोत कार्यालय, उद्योग, खानेपानी, कोश तथा लेखा नियन्त्रकको कार्यालय, गृहमन्त्रालयको सेवा हुँदै २०२८ सालमा गोरखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न आइपुगे । त्यतिबेला उनी ११ महिना गोरखाको सिडियो बनेर काम गरे ।
२०४९ सालमा जव ३० बर्ष सेवा अवधि पुगेकालाई अनिवार्य अवकास दिने व्यवस्था सुरु भयो, उपसचिव हुन छ महिना बाँकी छँदा उनी सेवा निवृत्त भए ।
त्यसलगत्तै उनले काठमाडौँमा फर्निचर व्यवसाय सुरु गरे । छोराछोरीलाई पढाइ लेखाई ठूलाठूला ओहोदामा पु¥याएपछि अहिले उनी जीवनको उत्तरार्ध काठमाडौँमै बिताइरहेका छन् ।
उनलाई अहिले लाग्छ, भजन गाउनुमा आनन्द छ । सत्संग गर्नुमा सन्तुष्टि छ । अहिले उनी जे गर्छन्, स्वान्त सुखायका लागि गर्छन् । सन्तोष लिन जान्नु नै जीवनको ठूलो कला हो । जसले उमेरदेखि नै सन्तोषी जीवन जिउन सक्छ, उसको जीवन नै सफल हुन्छ भन्ने लाग्छ ।
त्यसो त उनले सानै उमेरदेखि भजन गाए । आमा सन्तकुमारी भजनप्रेमी थिइन् । आमाको संगतबाट भजनतिर लहस्सिएका उनको बाल्यकालमा झन् ठूलो गुरुआमा फेला परिन् ।
तत्कालीन वाणिज्य वैँकका शाखा प्रवन्धक मनोहरि उपाध्यायकी श्रीमती थिइन्, मायादेवी । उनी दरबारकी संगीत श्रृङ्गार थिइन् । मायादेवी नेवारको छोरी भएपनि जुद्धशम्सेरले मनोहरिलाई कन्यादान दिएका थिए । भारतमा शास्त्रीय संगीत सिकेर आएकी उनीसित हार्मोनियम, सितार, तवला लगायतका वाद्यवादनमा विज्ञ थिइन् ।
उनको संगतले मित्रलाल सानैमा वाद्यवादनको मोहजालमा परेका थिए ।
उनले आफ्ना दौतरीहरुलाई पनि वाद्यवादन सिकाए, भजन, गीत, संगीततिर लाग्ने वातावरण बनाए । नाटक लेखे, रिहल्सन गराए र विभिन्न ठाउँमा नाटक प्रदर्शन गरे ।
२०१२ सालमा ठिटौली बयदेखि नै उनले नाटक लेख्ने, खेल्ने र प्रदर्शन गर्ने गरेका थिए ।
त्यही वातावरणमा उनले झरना क्लव बनाए र संस्थापक अध्यक्ष बने । सोही क्लवले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गर्नेगथ्र्यो । गोरखा बजारमा दिवंगत भएकाहरुको नाममा उनकै नेतृत्वमा हरेक गाईजात्रामा रामायण प्रदर्शन गर्न सुरु भयो ।
अहिले उनी काठमाडौँ गए, काठमाडौँबाट पनि रामायण रेकर्ड गरेर पठाउने, त्यही रेकर्डको आधारमा यहाँ रामायण निकाल्ने पनि गरियो तर अचेल रामायण प्रदर्शन रोकिएको छ ।
कोदालो खन्ने, बञ्चरो हान्नेदेखि घर छाउनेसम्मको हर व्यवहारिक कामले खारिएका उनी भन्छन्, ‘जीवन र जगतलाई सबै पाटाबाट नियाल्ने मौका पाएँ । सुख पनि पाएँ, दुख पनि पाएँ । अहिले म जहाँ छु, जसरी बाँचिरहेको छु, यसमा सन्तुष्ट होइन, महासन्तुष्ट छु । भजन, कीर्तन र सत्संगले जीवनलाई सफल बनाउने रहेछ । त्यसकै आनन्द रसपान गरिरहेको छु ।’




