
जेष्ठ नागरिक दिवस : ‘दशैँको वृद्धभत्ता पाए बदाम लिन नारायणगढ जाने मन छ’
जीवनका ८८ बर्खा नाङ्लामा बदाम बेचेरै बिताइरहेकी गोरखा घ्याम्पेशालकी सानुमाया बरामलाई गरिरहेको काम अहिले पनि छोड्न मन छैन । गरिरहेको काम छोड्दा ‘बुढी भएछु’ जस्तो लाग्छ, जुन उनलाई सोच्न मन लाग्दैन ।
गरिरहेको कामले नै उनलाई आनन्द दिन्छ त्यसैले उनी भन्छिन्, ‘अब दशैँ आउनै लागेको छ । वृद्धभत्ता पाउन पाएपछि नारानघाट गएर बदाम ल्याएर बेच्न मन छ ।
’ बैँस बयदेखि नै सिजनअनुसारको फलफूल नाङ्लामा राखेर गोरखा बजारका विभिन्न ठाउँमा व्यापार गर्दै आएकी बानीले उनलाई यो उमेरमा पनि त्यही काम गरुँ–गरुँ लाग्छ ।
तर मनले आँटे जसरी काम गर्न शरीरले दिँदैन ।
जीवनमा उनले हुने नहुने दुख काटिन् । ‘२०१९, २० सालमा हो कि जस्तो लाग्छ, अनिकाल लागेको थियो । १० हल मकै रोपेकोमा १२ पाथी मात्र मकै आयो ।
यसले खान पुगेन । कहिले खाएर सुतियो, कहिले भोकै सुतियो’, बिगत सुनाउँदै उनले भनिन्, ‘कहिले बाक्लो खाइयो, कहिले पातलो(खोले) खाइयो । तर अहिले त्यस्तो छैन । आनन्द छ ।’
छोरी बिष्णुमाया बरामको सहारामा हाँसिखुशी बुढेसकाल बिताइरहेको उनी बताउँछिन् ।




