
सामाजिक बिकास कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भने ‘लक्षितबर्गलाई सहज सेवा मिल्नेछ’
गोरखामा सामाजिक विकास कार्यालय स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेघलाल श्रेष्ठले उक्त कार्यालयको बुधवार उद्घाटन गरेका हुन् ।
उक्त कार्यालय शिक्षा बिकास तथा समन्वय इकाई गोरखाको कार्यालयमा संचालन गरिएको छ । ‘जेष्ठ नागरिक, अपाङ्गता भएका, अल्पसंख्यक नागरिकलाई सहज सेवा दिन जिल्ला जिल्लामा कार्यालय स्थापना गरेका हौँ’ मन्त्री श्रेष्ठले भने ।
सबैलाई समाजसेवा गर्ने यस्तो अवसर नमिल्ने बताउँदै मन्त्री श्रेष्ठले कर्मचारीलाई प्रभावकारी रुपमा सहज सेवा दिन अनुरोध गरे । साथै उनले सेवाग्राहीले सेवा पाउने समयमा हेलचेक्र्याइँ भएको लागेमा तुरुन्त सम्बन्धित ठाउँमा उजुरी गर्न र मन्त्रालयमा पनि जानकारी गराउन अनुरोध गरे ।
स्थानीय तह, प्रशासन, समन्वय समिति लगायतका बिभिन्न क्षेत्रसँग समन्वय गरेर सामाजिक बिकास कार्यालयले काम गर्ने उनले बताए । गण्डकी प्रदेशमा आफु मन्त्री भएपछि गोरखामा छैटौँ जिल्ला कार्यालय उद्घाटन भएको बताउँदै उनले सबै जिल्लामा सामाजिक बिकास कार्यालयले सेवा दिने बताए । ‘सामाजिक बिकास मन्त्रालयबाट भएका कार्यक्रमको थोरै बजेट लिन पनि पोखरा जानुपर्ने बाध्यता अब हटेको छ’ उनले भने ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले शिक्षा, सामाजिक क्षेत्र, मन्दिर, गुम्बा निर्माण लगायताका काममा बजेटमा प्राथमिकता राख्न मन्त्रीलाई अनुरोध गरे । साथै उनले गोरखा जिल्ला दुर्गम भेग भएकाले यहाँ आबासिय विद्यालयको संख्या बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति अध्यक्ष अशोक गुरुङ, आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहाल, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, नेकपा एमालेका वुद्धी दवाडी, नेकपा माओवादी केन्द्रका ध्रुब भट्ट, नेत्रहिन संघ गोरखाका अध्यक्ष पबनकुमार बस्नेत, सामाजिक बिकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियार लगायतले मन्तब्य राखेका थिए ।




