| सोमवार, कार्तिक २३, २०८३

बर्खामा अबरुद्ध सोती, माछाखोला सडक सुचारु

बर्खाको पहिरोले अवरुद्ध सोतीदेखि धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्मको सडक सुचारु भएको छ । वर्षात सुरु भएसँगै बन्द रहेको १० किलोमिटर सो सडक नेपाली सेना र एघारकिलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालयले मर्मत गरेपछि मंगलवार बेलुकीबाट संचालनमा आएको हो ।

सोतीदेखि हावाडाँडासम्म सडक आयोजनाको क्षेत्र भएकाले उक्त ठाउँमा मर्मत गर्ने, ढुङ्गा पन्छाउने, फुटाउने काम सडक आयोजनाले गरेको आयोजना प्रमुख राजेश यादबले बताए । सडकमा गाडी गुड्न मिल्ने भएको उनले बताए । मंगलवार बेलुकी वा बुधवारदेखि गाडी संचालन गर्न मिल्ने हुने उनले बताए ।

हावाडाँडादेखि माछाखोला सम्मको खण्ड नेपाली सेनाले निर्माण गरेको खण्ड हो । वर्षातका बेला उक्त खण्डमा ढुङ्गा खस्ने, पहिरो जाने, भासिने भएर सडक अवरुद्ध थियो । उक्त खण्डको अवरोध नेपाली सेनाले पन्छाएर सडक तयार गरेको छ । ‘अहिले माछाखोलासम्म गाडी आउने बाटो बनेको छ’ माछाखोलाका उद्योग बाणिज्य संघ धार्चे इकाईका अध्यक्ष धनकुमार गुरुङले भने । सोती र अर्मलाको बिचमा सडक मर्मत भईरहेको उनले बताए । अर्मलातर्फ बाटो मर्मत भईरहेको र अर्मलादेखि माछाखोलासम्म भने नेपाली सेनाले यस अघि नै सडक निर्माण गरिसकेको छ ।

वर्षातका बेला सोतीसम्म मात्रै गाडी चलेको थियो । सोतीदेखि माछाखोलासम्मको सडममा जेठ २८ देखि अहिलेसम्म गाडी चलेको थिएन । गाडी नचल्दा प्रतिकिलो १० रुपैयाँ भाडा तिरेर खच्चडमा सामग्री ओसार्नु परेको ईकाई अध्यक्ष गुरुङले बताए । ‘गाडी चलेको भए दुई रुपैयाँ प्रतिकिलोमा ढुवानी हुन्थ्यो’ उनले भने । सर्वसाधारणलाई पैदल हिड्न पनि समस्या भएको धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुँदा कर्मचारी, जनप्रतिनिधि र जनताले पनि दुख पाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्