| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य कार्यक्रम कार्यान्वयनमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ट

स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ । गण्डकी प्रदेशका ८५ पालिकामध्य स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा गोरखा नगरपालिका सर्वोत्कृष्ट भएको प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत आर्थिक बर्ष २०७७/०७८ मा सम्पन्न गरिएका कार्यक्रमहरुको समीक्षा गोष्ठीमा सो जानकारी गराइएको थियो । सो अवसरमा गोरखा नगरपालिकाले ८०.५३ प्रतिशत अंक हाँसिल गरेको जानकारी गराइएको थियो । जसमा खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, महामारी रोग नियन्त्रण लगायतका सूचकका आधारमा मूल्यांकन गरिएको थियो ।


पालिकाभरका स्वास्थ्य सम्बन्धी गतिविधिलाई तथ्यांक संकलन, विश्लेषण सम्बन्धी सफ्टवेयरमा नियमित रुपमा अद्यावधिक गर्ने गरिएकाले पनि गोरखा नगरपालिकाको नतिजा उत्कृष्ठ हुन आएको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए ।
शाखाले स्वास्थ्य गतिविधिलाई डिजिटलाइज्ड गरेको थियो ।


त्यस्तै मूल्यांकमा गोरखाका अन्य दुई पालिका पनि उत्कृष्ट १० भित्र पर्न सफल छन् । पालुङ्टार नगरपालिका र सिरानचोक गाउँपालिकाले पनि उत्कृष्ट सातौँ र दशौँ स्थान हात पार्न सफल भएका छन् ।


म्याग्दीको बेनि नगरपालिका दोस्रो, बेशीसहर नगरपालिका तेस्रो, देवचुली नगरपालिका चौथो मध्य नेपाल नगरपालिका पाँचौँ भएका छन् ।
यस्तै पैयुँ नगरपालिका छैटौँ, पुतलीबजार नगरपालिका आठौँ र पोखरा महानगरपालिका नवौँ भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्