किन रोकिन्न मालपोतमा बिचौलीया र लेनदेन !
मालपोत कार्यालय गोरखामा सेवाग्राहीको चाप केही समय यता निकै बढेको छ । कोभिड १९ को संक्रमण तिब्र भएका बेला कार्यालयको सेवा बन्द भयो । लामो समय सेवा बन्द हुँदा अहिले चाप बढ्नु समान्य हो । तर कर्मचारी दरबन्दी अनुसार नहुँदा काम गर्न समस्या छ ।
थोरै कर्मचारीले सेवा दिन समस्या त छ नै । तर नियम भन्दा पनि लेनदेन गरेर कर्मचारीले काम गराउने प्रवृत्तीका कारण सेवाग्राही मालपोत कार्यालयको सेवा प्रति सन्तुष्ट छैनन् ।
एकै छिनमा सकिने काम दिनभरी लगाउने, एक दिनमा सकिने काम तीन दिन सम्म कुनुपर्ने बाध्यता सेवाग्राहीलाई छ । कुन ठाउँमा सेवाग्राहीलाई अड्को थापेर दुईचार हजार रुपैयाँ झार्न सकिन्छ भन्ने ध्यान कर्मचारीको हुन्छ । यसमा लेखापढी गर्नेहरुले सघाउँछन् ।

कार्यालयले काम हुँदैन भनेर फिर्ता गर्ने र लेखापढी ब्यवशायीले पैसा दिए आफुले मिलाउने भन्दै काम गराएका केही मानिस दरौँदीको सम्पर्कमा आएका छन् । कुनैबेला मालपोत कार्यालयमा लेखापढी गर्नेलाई आउजाउ गर्न रोकिएको थियो । तर अहिले फाईल बोकेर उनीहरु कुदिरहेका हुन्छन् । लेखापढीको अनुहार हेरेर कर्मचारीले आफु सँग निकट रहेकाको काम छिटो गरिदिने परिपाटी छ ।
कुनै पनि लेखापढी ब्यवशायी वा कार्यालय भित्रका कर्मचारी सँग संम्बन्ध नभएकाहरुले सजिलो काम पनि असजिलो गरेर पुरा गर्नुपर्ने बाध्यता छ । मालपोतबाट सहजै कम भयो कस्तो राम्रो सेवा पाईयो भनेर फर्कने कर्मचारी एक जना भेट्न पनि मुस्किल छ ।
सँगै जोडिएको जिल्ला प्रशासन कार्यालयले मालपोतको सेवा प्रबाहको निग्रानी गर्नुपर्ने देखिन्छ । साथै त्यहाँ भएको बिचौलीय र लेनदेनको पनि शुष्म ढंगले अनुगमन गर्ने हो भने हरेक दिन आर्थिक लेनदेनका घटना दोहोरिनेछन् । यसतर्फ सरोकारवाला निकाय सबैले ध्यान दिनु जरुरी छ ।




