
छेकम्पारमा आर्मीको हेलिकप्टरबाट चामल लैजाने तयारी
उत्तरी गोरखाको छेकम्पमार जाने बाटो अवरुद्ध भएपछि हेलिकप्टरबाट चामल लैजाने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सय ५० देखि दुई सय क्विलन्ट खाद्यान्न ढुवानीका लागि हेलिकप्टरको ब्यवस्था गरिदिन गृहमन्त्रालयमा पत्राचार गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।
लोक्पा खोलामा पहिरो जाँदा एक महिना देखि उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ र ७ साबिक चुम्चेत र छेकम्पार जाने पैदलमार्ग अवरुद्ध छ । सडक सञ्जाल नपुगेको त्यहाँ गोरेटोबाटो पनि बन्द भएपछि हेलिकप्टर बाहेक आउजाउ गर्ने, खाद्यान्न लैजाने माध्याम छैन । ‘धेरै तिरबाट खाद्यान्न अभाव भएको, लामो समयदेखि बाटो अवरुद्ध रहेको जानकारीपछि हामीले हेलिकप्टरबाट खाद्यान्न पठाउन लागेका हौँ’ प्रजिअ आचार्यले भने ।
गृहमन्त्रालयले कुन दिन कति परिमाणमा खाद्यान्न लान सकिने भन्ने बारे यकिन गरेको छैन । तर छिट्टै हेलिकप्टर ब्यवस्था हुने जनाएको छ । ‘कति क्विन्टल ढुवानी गर्ने भन्ने यकिन भएको छैन, तर हेलिकप्टर केही दिनमा आउने सुचना छ’ प्रजिअ आचार्यले भने ।
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले धार्चेको माछाखोला र चुमनुब्रीको सिर्दिबासमा डिपोबाट सहुलियत दरमा चामल बिक्री गरिरहेको छ । तर त्यहाँ सम्म चामल लिन आउने बाटो नभएपछि छेकम्पारमा हेलिकप्टरबाट ढुवानी गर्न लागिएको हो ।




