
आगोले पोलेर घाईते महिलाको पाँच दिनपछि आज हेलिकप्टरबाट उद्धार
आगोले पोलेर घाईते भएकी गोरखाको धार्चे गाउँपालिका २ रुञ्चेतकी गर्बी गुरुङको आज हेलिकप्टरबाट उद्धार गरिएको छ ।
राजेन्द्र बजगाई, धावा ग्याल्जेन लामा र सागर गुरुङले घाइतेको उद्धार गरी उपचारको ब्यबस्था मिलाएका हुन् ।
गोरखा छेकम्पार घर भई काठमाडौँमा व्यवसाय गरिरहेका धावा ग्याल्जेन लामा र लाप्राकका सागर गुरुङको समन्वयमा मंगलबार बिहान घरमै पुगेर घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याएको छ । त्यस्तै गोरखा मसेल घर भई हाल काठमाडौँमा व्यवसाय गर्ने राजेन्द्र बजगाईँले उनको उपचारको व्यवस्था गरेका छन् ।

‘आगोले पोलेर गम्भीर घाइते भएको तर उपचार गर्ने खर्च अभावमा चारदिनदेखि घरमै थला परेर बसेको जानकारी पाएपछि बिहान नौ बजे हेलिकोप्टर लिएर रुञ्चेत पुग्यौँ’, धावाग्याल्जेनले भने, ‘उहाँलाई सकुशल उद्धार गरी अस्पताल पु¥याएको छु ।’
घाइतेलाई उपचारका लागि काठमाण्डौँको शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ । उनको उपचारको प्रवन्ध आफूले मिलाएको व्यवसायी बजगाईँले बताए । ‘घाइतेको ज्यान बचाउनु प्रधान कुरा हो’, उनले भने, ‘त्यसका लागि जति खर्च लाग्छ म बन्दोबस्त गर्नेछु ।’
गत असोज १ गते गोठमा आगोलागी हुँदा गोठभित्र सुतिरहेकी ४५ वर्षिया गुरुङ घाइते भएकी थिइन् । सो घटनामा परी उनको १४ वटा बाख्रा पनि आगोले पोलेर मरेको थियो ।




