
साँढे दुई महिना बित्यो, सहकारी फुटाउने चोर पत्ता लागेन
भीमसेनथापा गाउँपालिका ८ स्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाको कार्यालय फुटाएर २६ लाख ३९ हजार रुपैँया चोरी भएको ७५ दिन बित्यो, अझै चोर पत्ता लागेको छैन ।
अनुसन्धानमा प्रहरीको ढिलासुस्ती र सहकारी संस्थाका सञ्चालकको बेवास्ताका कारण चोर पत्ता नलागेको सहकारीका सदस्यहरुको गुनासो छ । ‘२६ लाख रुपैयाँ चोरी भएको आज ठ्याक्कै ७५ दिन(अढाइ महिना) भयो । प्रहरी पनि हातमा दही जमाएर बसेको छ । सहकारीका संचालकहरु पनि कानमा तेल हालेर बसेका छन्’, नाम नखुलाइदिन अनुरोध गर्दै एक सेयरधनीले भने, ‘जति समय बित्दै गएको छ, उति घटना रहस्यमय हुदै गएको छ ।
घटनाको अनुसन्धानले तिब्रता नपाएको देख्दा सहकारीका सञ्चालकमाथि नै शंका उब्जिन थालेको छ ।’ मिलिभगतमा घटना भएको हो कि भन्ने गाईगुँई चल्न थालेको उनले बताए ।
तर सहकारी संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ चोर पत्ता नलागुञ्जेल सबैले सबैलाई शंकाको घेरामा राख्नु अस्वभाविक नहुने तर्क गर्छन् । ‘हामीलाई यहाँ सेयर सदस्यले खप्न खान दिएका छैनन् । प्रहरीले पनि हामीलाई धेरै पटक बोलाएर हामीमाथि नै शोध अनुसन्धान गरिसक्यो’, अध्यक्ष श्रेष्ठले भने, ‘हामीले प्रहरीलाई ताकेता ग¥यौँ भने ल, ल अनुसन्धान गरिरहेका छौँ भन्छ । स्थिति हाम्रो काबुभन्दा बाहिर छ । दोहोरो पेलानले निक्कै गाह्रो बनाइसक्यो ।’
प्रहरी भने यस घटनालाई प्राथमिकताका साथ अनुसन्धानको काम गरिरहेको दाबी गर्छ । ‘अनुसन्धान गर्न समय त लागिहाल्छ नि । फेरि घटनाको अनुसन्धान भनेको यस्तो कुरा हो कि, नतिजा निस्केपछि शतप्रतिशत प्रगति, ननिस्कियुञ्जेल सुन्यप्रतिशत हुन्छ’, डिएसपी प्रकास दाहाल भन्छन्, ‘चोरी हुनासाथ गाउँलेहरु घटनास्थलमा पसेर अभियुक्तको फिङ्गरप्रिण्ट नै नष्ट हुने गरी जथाभावी सामान चलाएछन् । त्यसले पनि अनुसन्धान गर्न कठिन बनायो । स्थानीय सेयर सदस्यहरुको लापार्बाही भेटियो ।’
नेफ्स्कुनबाट दुईपटकसम्म प्रावेशन ब्राण्ड पाएको, गतबर्ष गण्डकी प्रदेश सरकारबाट पुरस्कृत भएको भीमकुल साकोस गोरखाको उत्कृष्ठ साकोसमध्य पर्छ । ३५०० जना सेयर सदस्य रहेको सो साकोसको कुल पुँजी ३१ करोड रहेको छ ।
दैनिक वैंकिङ सेवा, आइएमई सेवा सञ्चालन गरेको सो साकोसले कूलपुँजीको दुई प्रतिशत रकम कार्यालय भवनभित्रै राख्न पाउने प्रावधानअनुसार केही रकम राख्ने गरेको थियो । सोही क्रममा गत असार २५ गते राती तीन बजेर २२ मिनेट जाँदा सहकारीको भवन फुटाएर अज्ञात व्यक्तिले २६ लाख ३९ हजार रुपैयाँ चोरेर फरार भएको थियो ।




