| बिहिबार, असार १०, २०८३

६ करोड ५० लाखमा गोरखाको रिभर फन रिसोर्टले जिपलाईन संचालन गर्दै

गण्डकी गाउँपालिका १ बुट्टारमा रहेको ‘रिभर फन बिच’ ले जिपलाईन संचालन गर्ने भएको छ ।


छ करोड ५० लाख रुपैयाँमा पृथ्वीराजमार्ग छेउको चुमखोलाबाट रिसोर्ट सम्म पुग्ने गरी जिपलाईन तयार गरिएको उक्त परियोजनाका डिजाईनर इन्जिनियर मुकेश अधिकारीले बताए । ‘अहिले करिब ७० प्रतिशत काम सकिएको छ, आउँदो डिसेम्बरबाट संचालन गर्ने तयारीमा छौँ’ अधिकारीले भने ।

५ सय मिटर लामो बन्ने जीपलाइनको चार सय मिटर भाग त्रिशूली नदीमाथि पर्ने भएकाले झनै साहसिक र रोमाञ्चक हुनेछ । ’रिभर फन बिच’ रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले नदीमाथि पर्ने यो जीपलाइन विश्वकै नमुना हुने बताए ।

दुईवटा डोरीको प्रयोग गरिने हुँदा सुरक्षित भईनेछ । २०७७ फागुन ४ गते जिपलाइनको सिलान्यास गरिएको थियो ।

१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जीपलाइन सुरु हुने इन्जिनियर मुकेश अधिकारीले बताए । जीपलाइन युरोपियन मापदण्डमा भारतीय कम्पनीको प्राविधिक सहयोगमा निर्माण भइरहेको छ ।


८५ मिटर स्काइ रोप साइक्लिङ समेत त्रिशूली नदीमाथि निर्माण भइरहेको छ । मिनी जीपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एडभेञ्चर पार्क पनि निर्माणको चरणमा रहेको इन्जिनियर अधिकारीले बताए ।

जीप लाइनका लागि बनाइएको टावरको तीन वटा तलामा क्याफे सञ्चालन गर्ने तयारी छ । पर्यटकका लागि खान बस्न सहज होस् भन्ने उद्देश्यले रेष्टुरेन्ट दुबैतर्फ र रिसोर्टमा बास बस्ने ब्यवस्था पनि रहेको उनले बताए ।

उक्त कम्पनीले ९ वर्षदेखि रिसोर्ट र र्याफ्टिङ व्यवसाय संचालन गर्दै आएको छ । आन्तरिक र बाह्य पर्यटक त्रिशुलीमा ¥याफ्टीका लागि आउने गर्छन । मुख्य सिजनका बेला रिसोर्ट खचाखच हुने गरेको छ ।


जिपलाईन पृथ्वीराजमार्ग छेउमा रहेकाले चितवन, पोखरा, बन्दिपुर, मनकामना लगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाईमा पर्ने संचालन अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्