| आइतवार, कार्तिक २२, २०८३

Upendra

जन्मथलो टेक्ने डाक्टर देवकोटाको अन्तिम इच्छा !

डाक्टर देवकोटाको जन्मघर मोह

दरौँदी ः
लामो समयदेखि पित्तथैलीको क्यान्सरसंग लडिरहेका वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधनबारे शुक्रबार मध्यरातदेखि फैलिएको भ्रमपूर्ण खबरले उनको जनमस्थल पालुंटारबासी अवाक भएका थिए । जब आफ्नो आफन्त र गाउँले भेट्न शनिबार जन्मघर आउने भन्ने खबर पाए, सबै गाउँलेहरु पालुंटार ४ बोहोरागाउँस्थित उनको घरमा भेला भए ।
साँढे दुईबजे नेपाली सेनाको र अल्टिच्यूड एयरको दुईवटा हेलिकोप्टर आयो । नेपाली सेनाको हेलिकोप्टरमा उनी र पत्नी मधु दीक्षित थिए भने अर्कोमा उनका तीन छोरीहरु मेघा, मञ्जरी, वसुधा र अत्यावश्यक औषधी उपचारका सामानहरु थिए ।
गाउँमा हेलिकोप्टर ल्याण्ड गर्नुअघि उनलाई उनको मामाघर रहेको साइलीटार र उनले एसएलसी दिएको अमरज्योति मावि लुइँटेलको आकासमा पनि घुमाइएको थियो ।
यसअघि बेलायतमा स्वास्थ्य उपचार गराएका डाक्टर देवकोटाले आखिरी समय आफ्नै देशमा बिताउन चाहेको भन्दै नेपाल फर्केका थिए । नेपाल फर्किएपछि पनि मर्नुअघि आफ्नो गाउँघर जाने, सानो छँदा खाएको सिस्ने पँधेराको पानी खाने र इष्टमित्र, बालसखा भेट्ने चाहना गरेका पारिवारिक स्रोतले बतायो । ‘गाउँ लगिदेऊ भनेर पहिल्यैदेखि भन्नुहुन्थ्यो’ उनका मामाका छोरा काशिराज घिमिरेले भने, ‘बेथाले च्याप्दै गएपछि पनि हेलिकोप्टर चढेर गाउँ जाने, सिस्ने पँधेराको पानी खाने भनेर हातको इशाराले भन्न थाल्नु भयो । त्यसैले आज समय मिलाएर ल्याइएको हो ।’ चेपेखोलाको पानीमा खुट्टा डुबाउने चाहना भने पूरा गर्न नसकिएको उनले बताए ।
सिस्नेपानी धाराको पानी खाएका पण्डित गाउँका धेरै मान्छे ठूलोमान्छे भएकाले यो पानीलाई डाक्टर देवकोटाले सानैदेखि मन पराउने उनका छिमेकीहरु बताउँछन् । ‘उनी नाम चलेका डाक्टर बने । राजेश्वर देवकोटा त्यही धाराको पानी खाएका, बाचस्पत देवकोटा त्यही धाराका पानी खाएका, दिनेशचन्द्र देवकोटा, सरोज देवकोटा त्यही धाराका पानी खाएर ठूलो मान्छे बनेका हुन् भन्थे’ स्थानीय देवेन्द्रराज देवकोटाले भने । न्यूरो अस्पतालका र मेडिसिटी अस्पतालका १० जनाको चिकित्सकको अति सघन रेखदेखमा उनलाई पण्डित गाउँस्थित घरमा पु¥याइएको हो । उनको घरसम्म मोटरबाटो नपुगेकाले हेलिप्याडदेखि स्टेूचरमा राखेर बोकेर घरसम्म पु¥याइएको थियो ।
पण्डित गाउँको उनको घर भूकम्पका बेला पनि जोगिएको थियो । ‘डाक्टरसाब आफैले बनाउनु भएको घर हो । भूकम्पको बेला अलिअलि चर्किएको थियो । मर्मत गर्नुभयो’ स्थानीय शंकर देवकोटाले भने ‘आफ्नो घर र गाउँलाई असाध्यै माया गर्नुहुन्थ्यो । त्यही भएर मर्ने बेलामा पनि फर्केर आउनु भयो ।’
घरमा भेला भएका आफन्तजन, छिमेक र बालसखाहरुले अन्ति मपटक भनेपनि भेट्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।
डाक्टर देवकोटाले जीवनकै अन्तिमपटक अपरेशन गरेकी १३ बर्षीया बालिका राधिका बस्नेत पनि उनलाई भेट्न पुगेकी थिइन् । डाक्टरसंगको क्षण स्मरण गर्दै राधिकाले भनिन् ‘उहाँ मर्ने अबस्थामा हुनुहुन्छ भन्ने सुनरे म भेट्न गएको थिएँ, उहाँले आफ्नो पिडा लुकाएर पनि मलाई तिमीलाई कस्तो छ भनेर सोध्नुभयो ।’ अहिले डाक्टरको यस्तो अबस्था देख्दा ज्यादै चिन्ता लागेको उनले बताइन् । ‘हामी काठमाडौं गएर भेट्न सक्दैनथ्यौं’, स्थानीय रामदत्त देवकोटाले भने, ‘हामीलाई भेट्न यहाँ आउनु भयो । अन्तिमपटक मुख हेर्न पाइयो ।’ यसअघि गाउँमा आउँदा उपचार सेवा लिन आउनेको घुइँचो लाग्ने गरेकोमा अहिले आफै दयनीय अबस्थामा आएकोप्रति गाउँलेका आँखा रसाएका थिए । ‘उनले छोएपछि बिरामी सञ्चो हुन्छ भन्थे । उनी गाउँ आएपछि मलाई के भएको हो हेर्दिनू न भन्न सबै धुरिन्थे’ देवकोटाका सानिमा नाता पर्ने कलादेवी देवकोटाले भनिन्, ‘अहिले त उनको अबस्था देख्दा केही बोल्नै सकिएन । हाम्रो गाउँको बत्ति निभेजस्तो भएको छ । मनै उराठ भएको छ ।’ डाक्टर देवकोटालाई गुमाउँदै गर्दा उनको उच्चप्रसंसा गाउँभरि गुञ्जिएको छ । निडर, हक्की स्वभाव भएको, गाउँको अति नै माया र सम्झना गर्ने, भूकम्पपछि गाउँमा करिब एककरोड रुपियाँको जस्तापाता वितरण गरेको बिगत सम्झेर गाउँलेहरु मर्माहत भएका छन् । मर्न त ढिलो चाँडो जो पनि मर्ने भन्दै उनका भतिज नाता पर्ने सरोज देवकोटाले उनको निधनले गाउँको मात्र नभएर देशलाई नै क्षति हुने बताए । ‘ठूलो व्यक्ति हो, गुमाउने भयौं’ उनले भने ‘उहाँको निधन नेपालका लागि नै ठूलो नोक्सान हो ।’ उनले जीवनको अन्तिम समय पिउन चाहेको सिस्ने पँधेराको पानी उनका छोरीहरुले ल्याइदिएका थिए । पत्नी मधुले खुवाइदिएकी थिइन् । गाउँलेलाई भेट्न चाहे पनि कसैसंग बोल्न भने नसकेका पत्नी मधुले जानकारी दिइन् । भेट्न आएका गाउँलेहरुको नाम भनेर चिनाउने प्रयास गरे पनि डाक्टर देवकोटा भने चुपचाप हेरिरहन्थे । उनको मुखबाट अक्सिजन निकाल्ने बित्तिकै घ्वार्रर्र आवाज आउने गरेको अबस्था देखेपछि गाउँले सबैको आँखा रसाएको थियो । डाक्टर पत्नी मधु र छोरीहरु अङ्गालो हालेर भावुक समेत भएका थिए । करिब दुईघण्टा समय बिताएपछि उनीहरु साँढे चारबजे काठमाडौं फर्किएका थिए ।
डाक्टर देवकोटा यसअघि गत कात्तिक २९ गते चुनावी कार्यक्रममा सहभागी हुन् पालुंटार आएका थिए ।

प्रतिक्रिया दिनुहोस्