
चीनबाट ४४ लाख डोज खोप आइसक्यो, को-को छन् प्राथमिकतामा ?
सरकारले चीन सरकारसँग खरिद गरेको थप ४४ लाख मात्रा भेरोसेल खोप शुक्रबार काठमाडौँ आइपुगेको छ ।
नेपाल वायु सेवा निगमको वाइडबडी जहाज मार्फत् उक्त मात्राको खोप शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार खरिद गरिएको ६० लाख मात्रा खोपमध्ये ४४ लाख मात्रा खोप काठमाडौँ ल्याइएको हो ।
दाहालका अनुसार उक्त खोप रसुवा, सोलुखुम्बु, मुगु, ताप्लेजुङ, बाजुरा लगायत १० वटा हिमाली जिल्लाका लागि उपयोगमा ल्याइनेछ । उनले भने ‘खोप ढुवानीको समस्या हुने भएकाले हिमाली जिल्लालाई प्राथमिकतामा राखेका हौँ । यो खोप छिट्टै वितरण गर्ने तयारी छ ।’ उनले काठमाडौँ, ललितपुर, भक्तपुर, रामेछाप लगायत ७ जिल्लामा ४० वर्ष माथिका व्यक्तिलाई पनि उक्त खोप लगाइने अन्नपूर्णसँग बताए । यस्तै अन्य ५५ जिल्लामा ३५ वर्षमाथिका व्यक्तिहरुलाई यो खोप उपलब्ध गराइनेछ ।
यसअघि लक्षित समूहमा परेर पनि खोप लगाउन छुटेका, विद्यार्थी, पर्यटन व्यवसायी, शिक्षक लगायतका पेशाकर्मीहरु यस खोपको प्रथमिकतामा परेको दाहालले बताए । यसअघि कोभिशील्ड २४ लाख ४८ हजार, भेरोसेल ७४ लाख, जोन्सन एन्ड जोन्सन १६ लाख, एस्ट्राजेनेका १७ लाख ७७ हजार ३२० मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भदौ ३१ को तथ्यांक अनुसार हालसम्म देशभर ५४ लाख ७३ हजार १५१ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै ६० लाख ५७ हजार १९४ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।




