
सडक कार्यालयको गतबर्षको कार्यप्रगति ८४ प्रतिशत
एघारकिलो, छेपेटार, भालुस्वाँरा, बारपाक सडक योजना कार्यालयले गत आर्थिकबर्ष २०७७÷०७८ मा ८४ प्रतिशत कार्यप्रगति गरेको छ ।
कार्यालयले १२ किलो, छेपेटार, बारपाक सडकको १२ किलोमिटर, विमलनगर–ठाटीपोखरी–दुधपोखरी सडकमा ३ किलोमिटर र गोरखा–आरुघाट सडकमा ३ किलोमिटर गरी जम्मा १८ किलोमिटर सडक पिच गरेको छ ।
त्यसैगरी सडक पुर्वाधार कार्यक्रम अन्तर्गत १२ किलोमिटर सडक ग्राबेल गरिएको योजना कार्यालय प्रमुख राजेश यादवले बताए । विमलनगर–ठाँटीपोखरी सडक ३ किलोमिटर, बेनीघाट– आरुघाट सडक ३ किलोमिटर, छेपेटारका स्थानीय सडक ३ किलोमिटर, पालुङटार सडक १ किलोमिटर र भच्चेक २ किलोमिटर गरी जम्मा १२ किलोमिटर सडकखण्डहरु ग्राबेल भएको यादवले बताए ।
उक्त कार्यालयअन्तर्गत ७ वटा पुल पनि निर्माण भएका छन् । ‘बुटारको त्रिशुलीमाथि बनिरहेको पुल अझै पनि अलपत्रै रहेको छ । त्यसबाहेक सोतीमा ४ ओटा, बढारेमा एक र खोपेमा एक गरी जम्मा ७ वटा पुल निर्माण सम्पन्न भएका छन्’, प्रमुख यादवले बताए । लगभग ४० करोड बजेटमा जम्मा ३३ करोड ४९ लाख खर्च भएको छ ।




