| सोमवार, कार्तिक २३, २०८३

राउतेपानी पहिरो पिडित तीन घरले गाउँ छाडे


पालुङ्टार नगरपालिका वडा नं. ३ राउतेपानीका पहिरो पिडितले गाउँ छाडेका छन् ।


भत्केको घरमा बस्न नमिल्ने र लामो समयसम्म पुनस्थापना हुन नसकेपछि गाउँबाटै बिस्थापित भएको पिडितहरुले बताएका छन् ।


पहिरो पिडित स्थानीय हरिप्रसाद देवकोटा, लक्ष्मीश्वर देवकोटा र तेजबहादुर रानाको परिबारले थातथलो छाडेका हुन् । पहिरोले घर बगाएको लामो समयसम्म पनि पुनस्थापना गर्न तीनै तहको सरकारले आँखा चिम्लेपछि कोही तराई पुगेका छन्, कोही ठाँटीपोखरी झरेका छन् ।


‘पहिरोले घरबास उठाएको साँढे दुई महिना बितिसक्यो, तैपनि पुनर्वासको केही पनि ब्यबस्था भएन । त्यसैले तीनघर परिबारले थातथलो छाडेर कोही जिल्ला बाहिर, कोही ठाँटीपोखरीतिर गएका छन्’, वडाअध्यक्ष रेशम अधिकारीले भने, ‘हरिप्रसाद देवकोटाको परिबार तराईतिर ढल्केबर ससुरालीको शरणमा पुगेका छन् । लक्ष्मीश्वर देवकोटाको परिबार ठाँटीपोखरी झरेका छन् । तेजबहादुर रानाको परिबार छिमेकीको शरणमा छन् ।’

तत्काल पुनर्वासको पहल नभएपछि पहिरोबाट क्षति पुगेका १९ घरका बासिन्दा त्रासै त्रासका बीच आ–आफ्नै घरमा बस्न थालेका वडाअध्यक्ष अधिकारीले बताए ।


१९ मध्ये आठ परिबारको घर बस्न नमिल्ने गरी पहिराले बगाएको हुँदा पुनर्निर्माणका लागि सिफारिस गरेको उनले बताए । ‘सिफारिस त तीन महिनाअघि नै गरेको हो, तर कहिले बन्ने हो अत्तोपत्तो छैन’, उनले भने, ‘कतिपयले गाउँ छोडे । कतिपय भत्किएकै घर मर्मत गरेर बस्न थालेका छन् ।’


घरसँगै अन्नपात पनि बगाएकाहरु, अति विपन्नहरुलाई विभिन्न सामाजसेवी तथा सामाजिक संघसंस्थासँग राहत संकलन गरी वितरण गरिरहेको वडा अध्यक्ष अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्