
सुरु भयो गोरखामा जनगणना
बुधवारदेखि गोरखामा जनगणनाको काम सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ ७७ जिल्लासँगै गोरखामा पनि सुपरीवेक्षण कार्य सुरु भएको कार्यालय प्रमुख महेशप्रसाद ढुङ्गानाले जानकारी दिए ।
गणकहरु घरदैलोका लागि खटिएको कार्यालयले जनाएको छ । ‘९८ जना सुपरीबेक्षक सबै पालिकाको वडामा खटिएका छन्’, उनले भने, ‘उनीहरुले घर तथा परिवारको सूचीकरण, कृषि कार्यको पनि लगत लिनेछन् ।’
यो गणनाले राष्ट्रिय कृषि गणना २०७८ को लागि नमुना प्राप्त हुनेछ ।
कुन परिवारमा कतिजनाले बैंकमा खाता खोलेका छन् ?भन्ने तथ्याङ्क जनगणनाबाट प्राप्त हुने कार्यालय प्रमुख ढुङ्गानाले बताए । अनुदानमा घर निर्माण कतिले गरे भन्ने जानकारी पनि गणनाबाट प्राप्त हुनेछ ।
प्राविधिक शिक्षा लिने कति छन् ?भन्ने बिवरण समेत आउनेछ ।
सुपरीबेक्षकले भदौ ३० देखि असोज १८ गतेसम्म शुद्धिकरणको काम गर्नेछन् । त्यसपछि कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गणकहरुले तथ्याङ्क संकलन थाल्नेछन् । उनीहरुका लागि कात्तिक १३ देखि १७ गतेसम्म तालिम संचालन हुनेछ ।
करिब चार सय जना गणक गोरखामा परिचालन हुने तथ्याङ्क कार्यालयका प्रमुख महेशप्रसाद ढुङ्गानाले बताए । बिगत भन्दा यस पटक जनगणनामा नयाँ प्रश्नावली थपिएका छन् ।
‘१०–१० बर्षमा हुने जनगणना राष्ट्रिय कार्यक्रम भएकाले तथ्याङ्क दिएर सहयोग गरिदिन सबैमा विशेष अनुरोध छ’,कार्यालय प्रमुख ढुंगानाले भने, ‘सही तथ्याङ्क दिइयो भने बिवरण ठिक हुनेछ ।
त्यसले गाउँ, वडा, पालिका, जिल्ला र मुलुकको बस्तुस्थितिबारे पनि याथार्थ बिवरण आउनेछ ।’ जनगणनाबाट निकालिएको निश्कर्ष राष्ट्रिय सम्पत्ति हुने भएकाले यसका लागि सबैको सहयोगको जरुरत पर्ने उनले बताए । जनगणना सही भयो भने योजना निर्माण र कार्यन्वयन पनि प्रभावकारी हुने उनको भनाइ छ ।




