
लोक्पा पहिरोका कारण चुमउपत्यमा जाने बाटो एक महिनादेखि अबरुद्ध
चुमनुब्री गाउँपालिका वडा नं. ६ र ७ साविक चुम्चेत र छेकम्पार गाविस जाने बाटो बिगत एक महिनादेखि अबरुद्ध छ । गत भदौ २ गते लोक्पा खोलामा पहिरो झरेपछि अबरुद्ध भएको बाटो अहिलेसम्म नखुलेको स्थानीय सेराप गुरुङले जानकारी दिए ।
‘बाटो नखुलेको महिनादिन पुग्न लाग्यो’, उनले भने, ‘भदौको दुई गते लोक्पा खोलामा पहिरो झर्यो । पुल पनि लग्यो । बाटो पनि लग्यो । अहिले त्यहाँमाथि क्याण्टिलिभर पुलमाथि पनि पहिरो झरेर ध्वस्त भयो ।’ अहिले पनि लगातार सुख्खा पहिरो झरिरहेकाले हिँडडुल गर्न नसकिएको उनले बताए ।
पहिरोले क्षति पु¥याएको क्याण्टिलिभर पुल पनि तत्काल मर्मतसम्भार गर्न सकिने अबस्था नरहेको स्थानीयको भनाइ छ । ‘१०, १० मिनेटको अन्तरमा पहिरो झर्छ ।

पहिरो छिचोलेर क्याण्टिलिभर पुल बनाउन जान सक्ने अबस्था पनि छैन’, सेराप गुरुङले भने, ‘कोही–कोही गाउँलेहरु ज्यानको बाजी थापेर पहिरो हेर्दै कुदेर पहिरो कट्ने गर्छन् । कुनदिन मान्छे मरेको खबर सुन्नुपर्छ भनेर डर लागिरहन्छ ।’ पहिरो करिब एकघण्टाको बाटो फराकिलो रहेको उनले बताए ।

एक महिनादेखि बाटो अवरुद्ध हुँदा दैनिक उपभोग्य सामानको अभाव झेलिरहनु परेको स्थानीयबासीको भनाइ छ । चामल, नून, चिनी, घ्यू, तेल, चिया, कफीलगायतका दैनिक उपभोग्य सामान गाउँमा अभाव भएको चुमनुब्री ७ का वडाअध्यक्ष पासाङ फुञ्जो लामा बताउँछन् ।
‘बाटो अवरुद्ध हुँदा गाउँलेहरु गाउँपालिकाको कामले गाउँपालिकाको कार्यालय सिर्दिबाससम्म जान सक्ने अबस्था पनि छैन’, उनले भने, ‘धेरै समस्या झेलिरहनु परेको छ ।’
गाउँमा लामो समयदेखि बाटो अवरुद्ध हुँदा धेरै जटिलता पैदा भएको चुम कल्याण समितिका अध्यक्ष निमा लामाले जानकारी दिए । ‘धेरै माथिबाट पहिरो झरेको छ । रोक्न सक्ने स्थिति पनि छैन ।
यताउताबाट पहिरो कट्न सक्ने बैकल्पिक बाटो कतैबाट पनि छैन’, उनले भने, ‘यसले हामीलाई धेरै नै समस्या बनाएको छ । यस बारेमा हामीले नेपाल सरकारका अर्थ मन्त्रीलाई र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई पनि समस्या राखेका छौँ ।’
तर कसैले पनि यस बारेमा गम्भीरताका साथ काम नगरेको उनले बताए ।
बाटो अवरुद्ध भएका कारण चुम्चेत र छेकम्पारमा खाद्यान्नको चरम अभाव भएको छ ।




