| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिकाभित्र क्षयरोगका बिरामी बढे

गोरखा नगरपालिका क्षेत्रभित्र क्षयरोगका बिरामी बढेका छन् । नगरपालिकाले क्षयरोग लागेका नलागेको खोजी गर्न थालेपछि बिरामी पहिचान हुने क्रम बढेको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए ।


अहिले नगरपालिकाभित्र ४६ जना क्षयरोगका बिरामी छन् । उनीहरुले नजिकको स्वास्थ्य संस्थाबाट नियमित औषधी सेवन गर्दै आएका छन् । गतवर्ष क्षयरोग लागेका बिरामीको संख्या ३९ थियो । क्षयरोगको उपचार र औषधी निशुल्क पाइन्छ ।


नगरपालिकाभित्र गोरखा अस्पताल सहित १४ वटा स्वास्थ्य संस्थाले क्षयरोगको उपचार र औषधी बितरण गर्छन् । चिकित्सकको सल्लाहमा नियमित औषधी खाएमा क्षयरोग निको हुन्छ । गोरखामा अहिले देखिएका मध्ये एक जना १८ महिनासम्म औषधी सेवन गर्नुपर्ने कडा खालको रोगबाट ग्रसित छन् ।

अन्य सबै छदेखि आठ महिना नियमित औषधी खानेहरु रहेको स्वास्थ्य शाखा प्रमुख रेग्मीले बताए । नगरपालिकाले गत वर्ष आईक्रोसकोपी क्याम्प पनि संचालन गरेको थियो ।

मंगलवार नगरपालिकामा क्षयरोग उपचार केन्द्र (बोहर्ट) बिश्लेषण कार्यक्रम भएको छ । मेयर राजनराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न स्वास्थ्य संस्थाका १८ जना सहभागी थिए । स्वास्थ्य कार्यालय गोरखाका क्षयकुष्ठ निरीक्षक नरजंग ठकुरीले उक्त कार्यक्रमको सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्