
आज दर खाने दिन : कस्तो खानेकुरा खाने ?
नेपाली हिन्दु महिलाहरुको ठुलो चाड तिजको आज अघिल्लो दिन । आज बेलुकी दर खाने चलन छ ।
महिलाहरुका लागि तिजको रमाइलो भनेकै दर खाने, पानी समेत नखाई ब्रत बस्नु अनि नाचगान गर्नु नै हो । तर चिकित्सकहरुका अनुसार दरका नाममा अघिल्लो दिन टन्न खाने र भोलिपल्ट पानी समेत नखाई ब्रत बस्नु स्वास्थ्यका दृष्टिकोणले निकै खराब हो ।
अघिल्लो दिन बढी चिल्लो, पिरो र मसालेदार खान खाने र भोलिपल्ट केही नखाई ब्रत बस्ने गर्दा पेटको समस्या तथा ग्लुकोजको मात्रा कम भएर मुर्छा पर्ने समस्या हुन सक्ने चिकित्सकहरु बताउँछन् । पानी नखाँदा शरीरमा ग्लुकोजको मात्रा कम भई हाइपोग्लाइसेमिया र हिट सिन्कोपका कारणले महिला बिरामी हुने गरेको पाइन्छ ।
दरको दिन परिकार तयार गर्नेक्रममा तेल तथा मसलामा विशेष ध्यान दिन आवश्यक छ । सकेसम्म घरमै परिकारहरु तयार बनाएर खाँदा राम्रो हुन्छ । भोलीपल्ट ब्रत बस्नु पर्ने भएकाले बढी चिल्लो, पिरो र गालेका खानेकुराहरु खानुहुँदैन ।
घरमा दर बनाउन झन्झटिलो हुने भन्दै बजारबाट मिठाईं तथा अन्य परिकार खरिद गरी ल्याउने चलन बढेको छ । बजारमा सजाइएका मिठाईहरु हेर्दा आकर्षक र खाउ खाउ लाख्ने भए पनि त्यस्ता मिठाईलाई आकर्षक बनाउन तथा बिग्रन नदिन केही रंग प्रयोग गरिएको हुन्छ ।
दरका अधिकांश खानेकुरा चिल्ला हुँदाहुँदै पनि घिउ विशेष महत्वका साथ खाइन्छ ।
भोलिपल्ट ब्रत बस्नुपर्ने भएकाले दरमा घिउ तथा बोसो भएका पदार्थ सेवन गर्ने चलन छ । चिल्लो पदार्थ, बोसो बाट बढी शक्ति पाइने भएकाले यस्तो भएको हो तर यसरी धेरै चिल्लो पदार्थ तथा पिरो, अमिलो अनि मसलेदार खानाले एसिडिटी बढ्ने एवं पेट पोल्ने हुन्छ ।
दरमा चिल्लो कम र पिरो कम खानुपर्छ । मासु खानेहरुले थोरै मासू खाने र सँगसँगै दरमा दही, फलफूल, हरियो सलाद आदि समावेश गर्नु उत्तम हुन्छ । ब्रतको दिनमा पनि आफ्नो शरीरको ख्याल गरी आवश्यकता अनुसार फलफुल र पानी सेवन गर्नु राम्रो हुन्छ ।




