
गोरखा लायन्स आँखा उपचारकेन्द्रमा २५ जनाको आँखाको शल्यक्रिया
नियमित आँखाको उपचार तथा शल्यक्रिया हुदै आएको गोरखा लायन्स आँखा उपचारकेन्द्रमा आइतबार २५ जनाको आँखाको शल्यक्रिया भएको छ । शल्यक्रिया गर्न सिफारिस भएका ३५ जनामध्य १० जनामा अन्य स्वास्थ्य समस्या देखिएका कारण २५ जनाको मात्र शल्यक्रिया गरिएको आँखा उपचारकेन्द्रले जनाएको छ ।
‘३५ जना शल्यक्रिया गराउन आउनु भएको थियो, तर १० जनामा उच्चरक्तचाप, मधुमेह लगायतका समस्या देखियो’, गोरखा लायन्स आँखा सेवाकेन्द्रका अध्यक्ष योङकुमार श्रेष्ठले भने, ‘त्यसैले २५ जनाको मात्र आँखाको शल्यक्रिया गरियो ।’ उनीहरुको सोमबार बिहान आँखाको पट्टि खोलिएको छ ।
हिमालय आँखा अस्पतालबाट आएका आँखा रोग विशेषज्ञसहितको चार जनाको टोलीले उनीहरुको आँखाको शल्यक्रिया गरेका हुन् ।
गोरखा लायन्स आँखा सेवाकेन्द्रले सदरमुकामसहित विभिन्न नगर तथा गाउँपालिकाहरुमा कार्यतालिका बनाएर आँखा उपचार सेवा सञ्चालन गर्दै आएको लायन्स क्लव अफ गोरखाका पूर्व अध्यक्ष श्यामबाबु श्रेष्ठले जानकारी दिए ।

नियमित आँखा शल्यक्रिया अभियान गत वैशाख महिनादेखि स्थगित भएको थियो । कोरोना संक्रमण बढेर निषेधाज्ञा जारी भएपछि स्थगित भएको शल्यक्रिया शिविर गत शनिबार, आइतबार र सोमबार पुन सञ्चालन गरिएको हो ।




