
गोरखामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको दुई करोड खर्च भएन
गोरखामा प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको दुई करोड भन्दाबढि रकम खर्च हुन सकेन । आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले किसानका लागि आएको उक्त रकम खर्च गर्न नसकेको हो ।
धान जोन, सुन्तला तथा फलफुल जोनका लागि गोरखा र तरकारी जोनका लागि तनहुँमा आएको बजेट खर्च हुन सकेन । छ करोड ९१ लाख ३३ हजार बजेट मध्ये चार करोड ८६ लाख ६५ हजार रुपैयाँ मात्र खर्च भएको परियोजनाका सुचना अधिकारी रबिन्द्र पौडेलले बताए ।
कृषकका लागि बितरण गर्ने बजेट र संचालन हुने कार्यक्रमको दुई करोड फिर्ता भएपछि जनप्रतिनिधी, किसान लगायतले भने कार्यालयको काम प्रभावकारी नभएको गुनसो गरेका छन् ।
कृषि सहकारी संस्था, नर्शरी, कृषक समुह, सिंचाई पोखरी निर्माणका लागि कार्यालयले अनुदान बितरण गर्ने गर्छ । गोरखामा धान उत्पादन बृद्धी गर्ने, सुन्तला र फलफुलको उत्पादन सँगै बिस्तारमा उक्त बजेट खर्च गर्नुपर्ने ब्यवस्था छ । तनहुँमा भने तरकारी खेतीको बिस्तारका लागि परियोजनाले अनुदान दिँदै आएको छ ।
साना सिंचाई, सामुदायिक सिंचाई कार्यक्रम, चक्लाबन्दी खेती, चैते धान प्रर्वद्धनका लागि पोष्ट हार्भेस्ट म्यानेजमेन्ट सहयोग, भण्डार पूर्वाधार उद्योग स्थापना, प्राविधिक शिक्षालयको साँझेदारीमा ब्यवशायीक उत्पादन, कृषि यान्त्रीकरणका लागि परियोजनाले अनुदान बितरण गरेको छ ।
सुचना अधिकारी रबिन्द्र पौडेलले कोभिडका कारण कार्यक्रम सबै सम्पन्न नभएको बताएका छन् । कार्यक्रम नहुँदा खर्च कम भएको उनले बताए ।
सबैभन्दा धेरै १५ लाख रुपैयाँ गण्डकी गाउँपालिकामा कोल्ड स्टोर निर्माणमा परियोजनाले खर्च गरेको छ भने अन्य धेरै अनुदान बितरण चक्लाबन्दी र सिंचाईमा भएको छ ।




