
चुमउपत्यकामा खाद्यान्न चरम अभाव, चम्पा र थुक्पाको भरमा बस्न बाध्य,
नून प्रतिकिलो रु २५०, चिनीे प्रतिकिलो रु ३००, चामल छैन
गोरखाको चुमउपत्यकामा खाद्यान्नको चरम अभाव भएको छ । चुमनुब्री गाउँपालिका ७ मा चामल अभावका कारण स्थानीयबासी चम्पा र थुक्पा खाएर गुजारा गरेका वडाअध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए ।
‘चामल त कसैको घरमा पनि छैन । चम्पा र थुक्पा खाएर बसेका छौँ’, उनले भने, ‘चम्पामा चिनी हाल्नुपर्छ, तर चिनी पनि छैन ।’ थुक्पामा प्रयोग गर्ने नून, तेल, घ्यू पनि सकिएको उनले बताए ।
बजारमा नून प्रतिकिलो रु २५० पर्ने स्थानीय डोबर लामा बताउँछिन् । ‘केहीदिन अघिसम्म चिनी एक किलोको तीनसय रुपैयाँ, २५ किलोको एकबोरा चामललाई छ हजार रुपैयाँ पथ्र्यो । खानेतेल आधा लिटरको पोकालाई २५० पथ्र्यो’, लामाले भनिन्, ‘तर अहिले पसलमा केही पनि पाइँदैन ।’
पूजाआजा गर्न घ्यूतेल नपाएर चौपट भएको स्थानीय चुमगुम्बाका प्रमुख लामा समेत रहेका वडाअध्यक्ष पासाङफुञ्जो लामा बताउँछन् । ‘गाउँमा मान्छे मरेका छन् । ४९ दिनसम्म हप्ताहप्तामा १०८ बत्ति बाल्नु पर्छ तर घ्यूतेल नपाएर बत्ति बाल्नै छोडे’, उनले भने, ‘घरको पनि सकियो, पसलको पनि सकियो, गुम्बाको पनि सकियो । अब के गर्ने त ?’
कोरोना र बाढी पहिरोले गाउँमा नाकाबन्दी भएपछि यस्तो अबस्था सिर्जना भएको स्थानीय दोर्जे लामा बताउँछन् । ‘चाइनातिरबाट ल्याउँ भने कोरोनाले गर्दा चाइनाले दुईबर्षदेखि नाकाबन्दी गरिदियो । तलबाट ल्याउँ भने कतै जान सक्ने अबस्था छैन’, उनी भन्छन्, ‘हेलिकोप्टर चार्टर गरुँ भने सकिदैन ।’ केही दिनदेखि गाउँमा खाद्यान्नको चरम समस्या भएको उनको भनाइ छ ।
स्थानीय निमा लामाका अनुसार लोक्पाको पहिरो र सर्दीभीरको क्याण्टिलिभर पुल भत्किएपछि गाउँमा खाद्यान्नको अभाव सिर्जना भएको हो । ‘जगत बगर र यारु बगरको कटानको समस्या त जसोतसो टरेको थियो । अहिले फेरि लोक्पामा ठूलो पहिरो झरिरहेको छ’, लामाले भने, ‘त्यहाँभन्दा अल्लि माथि सर्दीभीरको क्याण्टिलिभर पुल पनि पहिरोले भत्काइदियो ।
त्यसपछि हिडडुल गर्न र सामान ढुवानी गर्न ठप्प छ ।’
केहीदिनअघि लोक्पामा पहिरो झर्दा खाद्यान्न ढुवानी गरिरहेका १६ वटा खच्चड पुरिएर मरेका थिए, क्याण्टिलिभर पुल पनि भत्किएको थियो ।
सो क्षेत्रका जनप्रतिनिधि सांसद हरि अधिकारीले क्याण्टिलिभर पुल मर्मत गर्नु जरुरी रहेको बताए तर समय अभावका कारण त्यसको पहल गर्न आफूले नभ्याएको बताएका छन् । ‘यारु बगरको क्याण्टिलिभर पुलको बरु बिकल्प छ, तर सर्दीभीरको क्याण्टिलिभर पुलको बिकल्प छैन’, उनले भने, ‘त्यो मर्मत नगरेसम्म जनजीवनमा ठूलो असर पर्छ ।’
चुमनुब्री गाउँपालिका वडा नं. ६(साविक चुम्चेत गाविस) र वडा नं. ७ (साविक छेकम्पार गाविस)मा उत्पन्न समस्या समाधानका लागि प्रदेश र केन्द्र सरकारलाई जानकारी गराइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल बताउँछन् ।




