
मुग्लिन दमौली हुँदै पोखरा सडक खण्ड बिस्तारका लागि १३ अर्ब ६० करोड
एसियाली विकास बैंकको आर्थिक सहयोगमा विस्तार हुन लागेको मुग्लिन दमौली हुँदै पोखरा सडकका लागि १३ अर्व ६० करोड बजेट बिनियोजन भएको छ ।
आँबुखैरेनी जामुने खण्डको ४१ किलोमिटर सडकका लागि ६ अर्ब २० करोड र जामुनेबाट पोखरा पृथ्वी चोकसम्मको खण्डका लागि ७ अर्ब ४० करोड गरी १३ अर्ब ६० करोड लागत अनुमान गरिएको छ ।
दुवैतर्फका सडक आयोजना कार्यालय तथा ठेकेदारको सम्पर्क कार्यालय समेत राखेर काम अघि बढाउन थालिएको छ ।
सडक विस्तार सुरु हुने चरणमा रहेको पृथ्वी राजमार्गअन्र्तगत मुग्लिङ पोखरा सडकको विस्तारका क्रममा ६ हजार सात सय ५० रुख काटिने भएका छन् ।
८१ किलोमिटर सडकलाई चार लेनको बनाउनका लागि ठेकेदार कम्पनीसँग सम्झौता भएर काम अघि बढ्न थालेको छ ।
तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म ४० किलोमिटर र जामुनेबाट पोखराको पृथ्वी चोकसम्मको अर्को ४१ किलोमिटर खण्डका लागि गरी दुई बेग्ला बेग्लै ठेकेदार नियुक्त भएर प्रक्रिया अघि बढाइरहेका छन् ।
तीन वर्षभित्र काम सक्ने गरी जिम्मा पाएका ठेकेदारले काम थाल्नुअघि विस्तारका क्रममा राजमार्गअन्र्तगत सडक क्षेत्रमा पर्ने रुख काट्नका लागि लगत राखेर काम अघि बढाउन थालिएको आयोजनाको आँबुखैरेनी–जामुने प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । ‘काट्नुपर्ने रुखको लगत निकालेर अब कसरी अनि कहिले थाल्ने भन्ने गृहकार्य थालिएको छ,’ उनले भने ।
आयोजनाले यसअघि म्याग्दे गाउँपालिकाको गुणादीबाट जामुने क्षेत्रमा दुवैतर्फ गरी आठ किलोमिटर विद्युतका लाईन स्थानान्तरण गरेको छ । अब विद्युत लाईन सार्ने कामसँगै राजमार्गमा परेका रुख कटानलाई प्राथमिकता दिइएको छ । सुवेदीले केही दिनमै प्रक्रिया अघि बढाउने योजना रहेको बताए ।
वन डिभिजन तनहुँसँग आयोजनाले आफ्ना प्राविधिकका तर्फबाट तयार पारिएको सूची बुझाएर छलफल अघि बढाएको छ । ‘विकासका योजना गर्दा रुख काट्नुपर्ने बाध्यता हो,’ डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भने, ‘सकेसम्म पर्यावरणमा कम असर पार्ने गरी काम गर्न सुझाव दिएका छौं ।’
तनहुँ प्रशासनले समेत आयोजनाका लागि आवश्यक सहजीकरणको काम भैरहेको जनाएको छ ।




