
बोक्सी आरोपका पीडितले तीनबर्षदेखि न्याय पाएनन् , पीडित भन्छन् : अदालतको फैसला हात्ती आयो हात्ती आयो फुस्सा
धार्चे ६ काशिगाउँको बोक्सी मुद्धा का पीडित मीनकुमारी गुरुङ, सूचना गुरुङ र उनीहरुकी आमा काली गुरुङले अझै न्याय पाएका छैनन् । गोरखा जिल्ला अदालतबाट पीडितका पक्षमा मुद्धा फैसला भएको चार महिना बितिसक्दा पनि उनीहरुले न्याय नपाएका हुन् ।
स्थानीय भीमबहादुर गुरुङलाई बोक्सी लागेर मारेको भन्दै तीनजनालाई बोक्सी आरोप लगाउने सोही ठाउँका २८ बर्षका रोशन गुरुङविरुद्ध अदालतले छ महिना कैद र पाँच हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो । उनीहरुमाथि कुटपिट गरी गाउँ निकाला गर्नेलाई कारबाहीको फैसला गरे पनि पीडितले अहिलेसम्म क्षतिपूर्ति तथा भरणपोषण गरेको छैन ।
‘न अपराधी पक्राउ प¥यो, न जेल सजायँ भयो, न जरिबाना तिर्यो, न पीडितले पाउनु पर्ने क्षतिपूर्ति पाए’, पीडित पक्षका बालचन्द्र गुरुङले भने, ‘अदालतको न्याय पीडित पक्षका लागि हात्ती आयो, हात्ती आयो फुस्सा जस्तै भयो ।’ पक्षमा फैसला भएपनि पीडितले न्याय भने नपाएको उनको भनाइ छ ।
गरिबीका कारण जरिबानाबापतको पाँच हजार रुपैयाँ पीडकले तिर्न नसक्ने भन्दै अदालते सो रकम तिर्न धार्चे गाउँपालिका कार्यालयलाई पत्राचार गरेको थियो । तर कार्यालयले अपराधीको जरिबाना नतिर्ने जिकिर गर्दै आएको छ ।
अपराधीलाई दण्डित गरिएको जरिबाना रकम कुनैपनि हालतमा गाउँपालिकाले नतिर्ने धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जिकिर गरेका छन् । ‘अपराधीले तिर्ने रकम गाउँपालिकाले किन तिर्ने ? कुनै हालतमा तिर्दैन’, उनले भने, ‘उसले पाँच हजार रुपैयाँ पनि तिर्न सक्दैन भनेर हामीलाई तिर्न भनिएको रहेछ । उसले तिर्न सक्दैन भनेर जसले सिफारिस ग¥यो, उसैले तिर्छ । हामीसँग सोधपुछ पनि भएको छैन, समन्वय पनि भएको छैन, किन तिर्ने ?’
गोरखा जिल्ला अदालतले भने जरिबाना नतिर्ने भए के कारणले नतिर्ने भन्ने बारे अदालतमा निवेदन दिनुपर्ने अदालतका स्रेस्तेदार गोकर्णराज पन्तले बताए ।
पीडितमाथि बोक्सीको आरोप लगाई कुटपिट गर्ने आरोपी ६२ बर्षका कामी गुरुङ, ३९ बर्षकी आइतीमाया गुरुङ, ३१ बर्षकी प्रमिला गुरुङ र २३ बर्षकी मिनु घले फरार रहेको भन्दै अदालतले मुद्धा मुल्तवीमा राखेको छ ।
कैद तथा जरिबाना फैसला भएका रोशन गुरुङ हाल वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत छन् । फरार रहेको भनिएका चार जना काशिगाउँमै नियमित कामकाजमा रहेका पिडितहरुको भनाइ छ ।
२०७५ साउन १० गते मृत्यू भएका स्थानीय भीमबहादुर गुरुङको शव भोलिपल्ट चिहानडाँडामा रोशन गुरुङले काटेर आन्द्राभुँडी निकालेका थिए । ‘बोक्सी लागेर मरेको र उसको भुँडीमा भ्यागुता, सर्प, माछा, छेपारा भेटिन्छ भनेर चिहानडाँडामा लाश काटेका थिए’, पीडित गुरुङ भन्छिन्, ‘उसलाई हामीले बोक्सी लगाएको हो भनेर हामीमाथि पनि निर्घात कुटपिट गरी गाउँ निकाला गरिएको थियो । त्यसैले हामीलाई शारीरिक र मानसिक रुपमा पुग्न गएको क्षतिपूर्ति भराइपाउँ भने उजुरी दिएका थियौँ । फैसला भइसक्यो तर क्षतिपूर्ति पाएका छैनौँ ।’
घटनापछि विस्थापित मीनकुमारी गुरुङ अहिलेसम्म चितवन शारदा नगरमा बस्दै आएकी छिन् ।




