
सिँगै थुमी अहिले पनि श्री ५ को वायुगुठीमा
जनआन्दोलन २०६२/०६३ को जगमा भएको निर्वाचनपछि गठित संविधान सभाको पहिलो बैठकले २०६५ सालको जेठ १५ गते मुलुकमा राजतन्त्रको अन्त्य ग¥यो ।
मुलुकमा विधिवत लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा ग¥यो ।
राजतन्त्र अन्त्य भएको आज १३ बर्ष बितिसकेको छ तर गोरखाको आरुघाट गाउँपालिका वडा नं. ३ र ४ (साविक थुमी गाविस)का सबै आवाद गरिएका जग्गा–जमिन तथा बस्तीहरु हालसम्म पनि श्री ५ को वायु गुठीमा रहेको छ ।
दुईवटा बस्ती अझै पनि लिलाविक्रम शाहको नाममा छ ।
‘ढुङ्गेफाँट र आर्खेत बजारको जग्गा–जमिनमा स्थानीयबासीले सहर बसाइसकेका छन् । किसानले खेती गरिरहेका छन्, कर पनि किसानले नै तिर्छन्, तर लालपूर्जा लिलाविक्रमको नाममा छ’, स्थानीय इश्वरी लामिछाने भन्छन्, ‘खेती गरेको चार पुस्ता भइसक्यो, तैपनि घरजग्गा आफ्नो नाममा आएको छैन ।’ ४० सालअघि मोहीले आफ्नो नाममा लालपूर्जा बनाउन धेरै नै कसरत गरे, तर अझै समर्थ भएका छैनन् ।
‘बहुदल आएको धेरै बर्षपछिसम्म पनि ठकुरीलाई बोका, राँगो, भेँडा, बोका, घ्यू ठकुरी दरबारमा ठेक बुझाउनुपथ्र्यो’, आर्खेतका परिचित अधिकारी भन्छन्, ‘अहिले त्यस्तो बुझाउनु त पर्दैन तर जग्गाजमिन किसानको नाममा आएको छैन । ठकुरी राजाकै नाममा छ । धेरै त श्री ५ को वायुगुठीको नाममा छ ।’
२०७०÷०७१ सालमा श्री ५ को वायुगुठी जग्गाको कर तिर्न नसक्ने गरी वृद्धि भयो । त्यतिबेला किसानहरु आन्दोलित भए । मोहीको नाममा रैकर गर्न स्थानीयबासीले धेरै नै मिहिनेत गरे तैपनि सफल भएनन् । कर घट्यो, तै जग्गा रैतानीको नाममा आएन ।
‘शिरानमा श्री ५ को वायुगुठी भनेर लेखेको हुन्छ ।
रैतानीको नाममा मात्र मोहीको नाम लेखिएको हुन्छ । तिरो पनि ठकुरीको दरबारमा बुझाउनु पथ्र्यो’, स्थानीय इश्वरी लामिछाने भन्छन्, ‘हामीले आन्दोलन ग¥यौँ । पछि मालपोतमै कर बुझाउन पायौँ । कर पनि घट्यो तर लालपूर्जाको टाउकोमा लेखिएको श्री ५ को वायुगुठी मेटाउन पाएनौँ ।’
राजा महेन्द्रकी आमा धादिङ ज्याम्रुङ दरबारकी चेली थिइन् । ‘कुनै बेला बडामहारानीलाई काम्ने बेथा लाग्यो । हेराउँदा ज्याम्रुङको बायुले दुख दिएको भन्ने पत्ता लाग्यो’, लामिछाने भन्छन्, ‘त्यसपछि ज्याम्रुङका धमलाहरुलाई वायुपूजा गर्ने जिम्मा दिइयो र त्यसबापत बायुगुठी स्थापना गरिएको रहेछ । माहिला राजा लिलाबिक्रमलाई थुमीको तिरो उठाएर खाने जिम्मा दिइएको थियो । त्यहीबेलादेखि वायुगुठीको जग्गा मोहीहरुले खेती गर्न थालेका हुन् ।’
२०३६ सालको नापी टोलीले गुठी जग्गा मोहीको नाममा दर्ता नगरेको लामिछानेले जानकारी दिए । उनका अनुसार रामकृष्ण लामिछाने प्रधानपन्च भएपछि गुठी संस्थानमा निवेदन दिएका थिए । नापीले पूर्जा दिँदा धेरै समयसम्म रोकेर बल्ल जग्गा धनीको नाममा दिए तर लालपूर्जाको माथिल्लो भागमा श्री ५ को बायु गुठी भनेर उल्लेख छ । किनबेच हुन्छ ।
सिम्ले र देउरालीका केही जग्गाबाहेक साबिक थुमी गाविसका सबै जग्गा जमिन श्री ५ को वायुगुठीको नाममा र लिलाविक्रम शाहको नाममा छ । साविक आरुआर्वाङ गाविसको आप्रिकका सबै जग्गा पनि श्री ५ को बायुगुठीकै नाममा रहेको आरुघाट गाउँपालिकाका प्रमुख पूर्ण दाहाल बताउँछन् ।
‘रैकर गरिपाउँ भनेर गत २०७०, २०७१ सालतिर सबै किसानका लालपूर्जा जम्मा गरेर गुठी संस्थानमा लगेका बुझाएका थिए । मालपोतमा पनि निवेदन दिएका थिए’, उनले भने, ‘तर किसानको आन्दोलनको केही जोर चलेन । अलिकति कर घट्यो त्यत्ति मात्र उपलब्धी भयो । हामी जनप्रतिनिधि आएपछि पनि पहल भएको थियो । तर हाम्रो कुरा पनि बिकेन ।’ यही ठाउँको नेता गुठीसँग सम्बन्धित मन्त्रालयको मन्त्री भएमा मात्र यहाँको समस्या समाधान हुने उनले तर्क गरे ।




