| सोमवार, कार्तिक २३, २०८३

पत्रकारिताकी विद्यार्थी जोनिशा धमाधम म्युजिक भिडियोमा

उत्तरी गोरखाकी चेली जोनिशा गुरुङ धमाधम म्युजिक भिडियोहरुमा देखिन थालेकी छिन् । पत्रकारितामा स्नातक तह दोस्रोवर्षमा अध्ययनरत जोनिशाले मुख्य भूमिका र समूहमा गरी एकदर्जन भन्दा धेरै म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् ।


भर्खरै उनले मोडलिङ गरेको पिपलु छायाँ बजारमा आएको छ । गणेश गुरुङ र जोनिशा गुरुङको मुख्य मोडलिङ रहेको पिपलु छायाँ यही हप्ता सार्वजनिक भएको हो ।


यसअघि उनले दोधार दोधार र भीरकुनाको भिलेज प्रमोशन म्युजिक भिडियोको मुख्य भूमिकामा मोडलिङ गरिसकेकी छन् ।
जोनिशाले २०७५ सालमा सिर्दिबासको प्रोमोशनल म्यूजिक भिडियोबाट मोडलिङको करिअर सुरु गरेकी थिइन् । चलचित्र क्षेत्रमा भने मनकाशी (गुरुङ चलचित्र)मा उनले डेब्यू गरेकी थिइन् ।


‘स्टुडेण्ट लाइफमै रहेकाले अहिलेसम्म पढाइ नै प्राइयोरिटीमा छ’, जोनिशा भन्छिन्, ‘मोडलिङ करिअरमा डिमाण्ड भने आइ नै रहन्छ ।’


यसअघि जोनिशा मिस गुरुङ २०२० मा सेकेण्ड रनर अप बन्न सफल भएकी थिइन् । त्यतिबेला पब्लिक च्वाइस र डिस्प्लिनमा भने उनले एवार्ड जितेकी थिइन् ।


पर्दाको जीवन ग्ल्यामरस देखिन्छ तर उनको मनभित्र भने आफ्नो विकासबाट बञ्चित गाउँलाई उजागर गर्ने दृढ प्रतिज्ञा छ ।


उनको जन्मस्थल चुमनुब्री गाउँपालिका ३ न्याक हो, जहाँ अहिलेसम्म मोटरबाटो पनि पुगेको छैन, विजुली बत्ती पनि छैन, मोबाइल सेवा पनि छैन, विद्यालय पनि छैन ।

‘मैले पनि १० कक्षासम्म लम्जुङको इलिमपोखरी फुलिङगिरीमा पढेको हुँ’, उनी भन्छिन्, ‘बुबा लम्जुङको लेकमा भेँडागोठमा बस्दा मलाई त्यहाँको स्कूलमा भर्ना गरिदिनु भएको हो किनभने त्यहाँ मेरो आमाको मितिनी हुनुहुन्थ्यो ।’


संघर्षमय जीवन बिताएकी जोनिशामा अपार सम्भावना रहेको उनलाई डेव्यू गराउने कलाकार विरुप घले बताउँछन् ।

‘उसमा संघर्ष पनि छ, प्रतिभा पनि छ । यो फिल्डमा ग्ल्यामर चाहिन्छ, त्यो पनि छ, ट्यालेन्सी पनि छ’, उत्तरी गोरखा सांस्कृतिक समाजका महासचिव घले भन्छन्, ‘त्यसैले उसले यथेष्ट प्रगति गर्न सक्ने प्रचुर सम्भावना देख्छु ।’


पत्रकारिता पढे पनि, रङ्गकलामा रमे पनि आफ्नो इच्छा भने गाउँको विकास नै रहेको जोनिशा बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्