| सोमवार, कार्तिक २३, २०८३

धुपी–ला पास गर्दै रुपि–ला पास गर्ने नयाँ पर्यटकीय गन्तव्यको अध्ययन

कोभिड १९ को महामारी र निषेधाज्ञाका कारण पर्यटन व्यवसाय चौपट भइरहेका बेला गोरखामा नयाँ पदमार्ग खोज अध्ययन गरिएको छ ।
प्रसिद्ध मनास्लु पदमार्गलाई पछ्याउँदै अजीरकोट गाउँपालिकामा पर्ने धुपी–ला पासबाट रुपि–ला पास गर्ने पदमार्गको सम्भाव्यता अध्ययन गरिएको हो ।

कोभिड महामारीबाट मुक्त भएलगत्तै सो पदमार्गमा पर्यटकलाई भ्रमण गराउने गरी नयाँ पदमार्गको सर्भे गरिएको वुद्ध हिमाल पर्यटन विकास समितिका अध्यक्ष धनबहादुर गुरुङले बताए ।
अजिरकोट गाउँपालिकाको सहयोगमा भच्चेक बजारबाट सिरानडाँडा, निम्चेपोखरी, नागेपोखरी, दूधपोखरी हुदै धुपि–ला पास गर्ने नयाँ पदमार्ग खोजी गरिएको उनले बताए ।

‘५,१०६ मिटर उचाइमा रहेको लार्के–ला पास र ४,७२० मिटर अग्लो रुपि–ला पास गरेर यसअघि पनि विदेशी पर्यटक मनास्लु सर्किट पदयात्रा गर्थे । हाम्रो सातदिने यात्राले ४,६८० मिटर अग्लो धुपि–ला पास पनि पत्ता लगाएको छ’, उनले भने, ‘अब सबैभन्दा छोटो अवधिमा तीन अग्ला भञ्ज्याङ ‘पास’ गर्न सकिने पदमार्ग बन्ने भएको छ ।’ साथै सो पदमार्गमा निम्चेपोखरी, नागेपोखरी, दूधपोखरी र नारदपोखरी जस्ता ठूला प्राकृतिक ताल पनि आकर्षणको रुपमा रहेको उनले बताए ।

सिरानडाँडाबाट करिब १० किलोमिटर दुरीको ३३०० मिटर उचाइमा नागे पोखरी छ । मुहान नभएको तर आकाशको पानी संकलन भएर बनेको यो ताललाई गुरुङ तथा तामाङ भाषामा नाक्यू पोखरी नामाकरण गरिएको हो । पछि अपभ्रंश भई नेपाली भाषामा नागेपोखरी बनाइएको स्थानीय प्रमुख लामा लोमा मिङ्ग्युर शेर्पाले जानकारी दिए ।

आकाशको जल नागको पनि अमृत भएकाले नागे पोखरी भन्न पनि मिल्ने भएकाले आफूले पोखरीमा नागको प्रतिमा स्थापना गरेको उनले बताए ।
यातायातको सुविधाबाट नजिक रहेर पनि ३३०० मिटर उचाइको हावापानीमा प्राकृतिक तालको अवलोकन गर्न सकिने यो उत्कृष्ठ पर्यटकीय स्थल रहेको वुद्ध हिमाल पर्यटन विकास समितिका अध्यक्ष गुरुङ बताउँछन् ।
त्यहाँबाट निम्चेपोखरी र इतिहासमा चर्चित गोरखा र लम्जुङको सीमानामा रहेको दूधपोखरी पुगेर अर्को ठूलो नारद पोखरी पुग्न सकिन्छ । दूधपोखरी चेपे नदीको मुहान हो भने नारदपोखरी दरौँदी नदीको मुहान हो ।

यो पोखरी समुद्री सतहबाट ४,१२५ मिटर उचाइमा रहेको छ । दूधपोखरी र नारद पोखरीमा जनैपुर्नेका दिन ठूलो मेला लाग्ने गर्छ भने नागेपोखरीमा नागपञ्चमीको दिनमा मेला लाग्छ ।
साथै यो पदमार्गबाट विभिन्न पाटन, माडी, झोर, थली, भेँडीगोठ, अमूल्य, बहुमूल्य जडिबुटी, डाँफे, कस्तुरीको अवलोकन गर्दै धुपि–ला पास गर्न सकिन्छ । यसअघि धुपीझोर भनेर चिनिने सो भञ्ज्याङलाई रुपि–ला नजिकै रहेकाले धुपि–ला भनेर चिनाउन सकिने गुरुङले बताए । धुपि–लाको उचाइ ४,६८० मिटर अग्लो छ ।

‘भच्चेकबाट पहिलो बास नागेपोखरीमा हुन्छ । दोस्रो बास तपीमाडी(३,८००)मा हुन्छ । यहाँबाट दूधपोखरीको अवलोकन गरी फेरि यहीँ आएर तेस्रो बास बस्न सकिन्छ’, उनले भने, ‘त्यसपछिको चौथोबास पाउखोलामा हुन्छ । पाँचौँ बास नारदपोखरीमा हुन्छ, छैठौँबास रुपि–ला फेदी(मिर्चाखोला)मा हुन्छ । त्यहाँबाट सात दिनमा बारपाक पुग्न पनि सकिन्छ, रुपि–ला पास गर्नका लागि रुपि–ला बेसक्याम्पमा पुग्न पनि सकिन्छ ।

’ रुपिला पास गरेर मनास्लु पर्यटकीय पदमार्गमा मिसिन पनि सकिने वा बारपाक हुदै काठमाडौँ फर्कन पनि सकिने उनले बताए ।
काठमाडौँबाट आएर सात, आठ दिनमै यति धेरै प्राकृतिक तालतलैया तथा अन्य हिमाली दृष्यको अवलोकन गर्दै पास तथा पदयात्रा गर्न सकिने यो उत्कृष्ठ र भर्जिन पदमार्ग भएको उनले बताए ।


सो पदमार्गमा अजीरकोट गाउँपालिकाको सहयोगमा सिरानडाँडादेखि करिब २० किलोमिटर ठूलोमिदुसम्म पदमार्ग निर्माण गरिएको छ । तीन ठाउँमा खानेपानीका धारा, विश्रामगृह निर्माण गरिएको छ । बाँकी ठाउँमा बाटोलगायतका पूर्वाधार निर्माण गर्नु पर्ने छ ।
बाँकी पदमार्गको सर्भेका लागि हालसालै गाउँपालिकाका दुईजना प्राविधिकसहितका टिमले सात दिने पदयात्रा सम्पन्न गरेको पर्यटन विकास समितिले जनाएको छ ।


नागेपोखरीदेखि नारदपोखरीसम्म पदमार्ग बनाउन सके सो क्षेत्र पर्यटकको रोजाइमा पर्ने धेरै सम्भावना रहेको सर्भेमा खटिएका इञ्जिनियर अञ्जन क्षेत्रीले जानकारी दिए । बारपाक गाउँदेखि नारदपोखरीसम्म भने पर्यटन बोर्डको सहयोगमा यसअघि नै पदमार्ग निर्माण गरिसकिएको छ ।


छोटो अवधिमै धेरै प्राकृतिक विविधताको अवलोकन गर्न सकिने र एडभेञ्चर ट्रेकिङ गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्