| सोमवार, कार्तिक २३, २०८३

धार्चे गाउँपालिकाका २२९४ जना विद्यार्थीलाई स्वाध्यायन सामग्री प्रदान


धार्चे गाउँपालिकाका दुईहजार दुईसय ९४ जना विद्यार्थीलाई स्वाध्यायन सामग्री प्रदान गरिएको छ । गाउँपालिका कार्यालय, गणेश हिमाल एशोसिएशन र गुडनेवर्स इण्टरनेशनलमार्फत पद्धति विकास सेवाकेन्द्रले सो पालिकाका सबै विद्यार्थीलाई स्वाध्यायन सामग्री प्रदान गरेका हुन् ।


‘कक्षा एकदेखि पाँचसम्मका बालबालिकालाई नेपाल सरकारले अनुमति दिएको स्वअध्ययन अभ्यास पुस्तिका(प्रोजेक्टवर्क गर्ने कापी), पेन्सिल कलर,. मैन कलर, पेन्सिल, सार्पनर, इरेजर, पेन्सिल केस र यी सबै सामग्रीहरु राख्ने झोला वितरण गरेका हौँ’, पद्धति विकास सेवा केन्द्रका भूपेन्द्र पोखरेलले भने, ‘तीनवटै निकायको गरी जम्मा नौलाख आठ हजार छ सय ६४ रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो ।’

केही दिनअघि पालिकाको कार्यालयबाट सबै विद्यालयका प्रतिनिधिलाई सम्पर्कमा बोलाई सामग्री हस्तान्तरण गरिएको उनले बताए ।
कोरोना संक्रमण दर सुन्य भएपछि धार्चे गाउँपालिकामा केहीदिनअघिसम्म भौतिक उपस्थितिमा पठनपाठन भएको थियो ।


दुर्गम क्षेत्र भएकाले अनलाइनबाट पनि पठनपाठन सम्भव नभएको, रेडियो पनि नसुनिने हुँदा त्रिपक्षीय जमघटबाट यस्तो निर्णय गरिएको गणेश हिमाल एशोसिएशनका अध्यक्ष सुनार गुरुङले जानकारी दिए ।


स्वाध्यायन सामग्री पाएपछि बालबालिकाहरु पठनपाठनमा आकर्षित भएको पाएको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ बताउँछन् । ‘म गाउँघर चाहर्दा स्वाध्यायन सामग्री लिएर बालबालिका पठनपाठन गरिरहेको देखेँ’, उनले भने, ‘हामीले जे ग¥यौँ, त्यो प्रभावकारी नै भएछ जस्तो लाग्यो ।’

(तस्वीरहरु : भूपेन्द्र पोखरेल)

प्रतिक्रिया दिनुहोस्