
गोरखामा आज गाईजात्रा मनाईँदै, कोभिड त्रासले रमझम छैन
भदौ कृष्ण प्रतिपदाका दिन यही वर्ष दिवङ्गत भएका आफन्तको पुुण्यको कामना गर्दै आज गाईजात्रा पर्व मनाइँदै छ । विशेष गरी नेवार समुदायमा मृतकको स्मृतिमा निकै श्रद्वाका साथ गाईजात्रा मनाउने प्रचलन छ ।
गोरखामा नेवार समुदायको बाहुल्यता रहेको ठाउँमा यो पर्व धुमधामले मनाउने प्रचालन थियो । कोभिड १९ को प्रभावका कारण गत वर्ष र यस वर्ष भने गाईजात्राको खासै रौनक छैन । जिल्ला प्रशासन कार्यालय र गोरखा नगरपालिकाले स्वास्थ्य सुरक्षको मापदण्ड पालना गरेर सांकेतिक रुपमा मात्रै चाडपर्व, जात्रा मनाउन अनुरोध गरेको छ ।
गोरखामा निषेधाज्ञा भएकाले पनि बिगतमा जस्तो जात्राको रौनक छैन ।
तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनमा शोक विह्वल भएकी रानी भुवनलक्ष्मीलाई हाम्रा मात्र सन्तान होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन यो जात्रा मनाउन थालिएको इतिहासमा उल्लेख छ ।
केही वर्षयता नेवारी बस्ती विकास भएको मुलुकका विभिन्न भागमा समेत यो दिन गाईजात्रा मनाउने गरिन्छ । जात्रामा आएकालाई पितृको स्मृतिमा फलाहार र दक्षिणा दिने प्रचलन पनि छ ।
निकैपछि यो पर्वलाई व्यङ्ग्यात्मक प्रहसन प्रस्तुत गरेर कुण्ठित भावलाई उजागर गर्ने गरिएपछि यसले जात्राका रूपमा लिएको हो भनिन्छ ।




