
आलु नफलेपछि किसान चिन्तित
मुख्य खेती आलु नफलेपछि धार्चे गाउँपालिका ५ गुम्दाका किसान चिन्तित भएका छन् ।
रोग पैmलिएर गाउँका ६५३ घरमा पालिएका सबै कुखुरा पनि मासिएको र आलु पनि नफलेपछि सबै चिन्तित भएको स्थानीय तेजमान गुरुङ बताउँछन् । ‘भर्खरै कुखुरो पनि बिऊ पनि नरहने गरी मासियो । अहिले धमाधम आलु भित्र्याउने बेला हो । आलु खन्दा भित्र फल नै छैन ।’ बाहिरबाट हेर्दा बोट लहलहाउँदो देखिने तर उखाल्दा बोट रित्तै हुने गरेको गुरुङ बताउँछन् ।
आलुमा ऐजेरु लागेको वडा सदस्य कर्णमाहिला गुरुङ बताउँछन् । ‘माटोभित्रै आलुको दानामा ऐजेरु लागेर आलु खाइदिने रहेछ । बोट उखाल्दा भित्रभित्र रित्तै भेटिन्छ’ उनी भन्छन् ‘आउँदो बर्ष त रोप्ने बिऊ पनि छैन ।’ मुख्य आयआर्जनको बाटो कुखुरा पनि आलु पनि मासिँदा गाउँले मर्कामा परेको उनको भनाइ छ ।
गुम्दालाई गोरखा जिल्लाको आलुको राजधानी भनेर चिनिन्छ । चिसो हावापानीमा फल्ने स्थानीय जातको यहाँको आलु छिमेकी गाउँ तथा सदरमुकामसम्म लोकप्रिय छ ।
गाउँमा जीविकोपार्जनको काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाले आलु र कुखुराको बिऊ सहयोग गरिदिनु पर्ने स्थानीयबासीको माग छ । ‘कुखुराको पनि बिऊ मासियो, आलुको पनि बिऊ मासियो’ वडा सदस्य मनर्ता गुरुङले भनिन् ‘अहिले जल्दो बल्दो समस्या यही हो यहाँको किसानको । यो समस्या समाधान गरिदिनुप¥यो ।’
जिल्ला कृषि विकास कार्यालयले भने यसबारे कार्यालयलाई जानकारी नै नभएको बताएको छ । ‘अचम्मको कुरा त के भने किसानहरुले हामीलाई खबर नै गर्दैनन्’ वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठ भन्छन् ‘त्यहाँ पुस्तौंपुस्ता पुरानो बिउ लगाइराखिएको छ । अब बिऊ परिबर्तन गर्नुपर्छ ।’ जिल्ला कृषि विकास कार्यालयसंग कुनै कार्यक्रम नभएको भन्दै उनले गाउँपालिका स्तरको कृषि कार्यालयको पहलमा प्रक्रिया अघि बढाउनु पर्ने उनको सुझाव छ ।




