
अफगानबाट युके पुगेका एक गोरखाली भन्छन् : अवैध रुपमा अफगानमा रहेकाहरु जोखिममा छन्
पालुङ्टार नगरपालिका ९ सिस्नेरीका ४३ बर्षका राजाराम थापा मगर अहिले लण्डनको एउटा होटलमा छन् ।
उनलाई संयुक्त अधिराज्यले अफगानस्तानबाट उद्धार गरी संयुक्त अरब इमिरेट्स पु¥यायो । त्यहाँबाट फेरि दुई दिनअघि लण्डनमा लगेर सुरक्षित तबरले राखेको छ ।
उनी भन्छन्, ‘अहिले हामी सुरक्षित ठाउँमा, खतरामुक्त छौँ । अब यहाँ १० दिन क्वारेण्टाइनमा राख्छ र नेपाल पठाइदिन्छ ।’
उनी बिगत चार बर्षदेखि अफगानस्तानमा कार्यरत थिए । नेपाली सेनाको जागिरबाट निवृत्त भएपछि उनी हार्ट कम्पनीमार्फत अफगानस्तानस्थित जर्मन दूतावासमा सुरक्षागार्डका रुपमा कार्यरत थिए । जागिरबाट परिबार पाल्ने, छोराछोरीलाई शिक्षा, दीक्षा दिने गरिरहेका उनलाई अहिले एकाएक गरिरहेको काम छाडेर भाग्नुपर्दा दुख लागेको छ ।

‘जताततै बम, बारुद, गोला पड्कन थाल्यो । बस्न नसक्ने अबस्था भयो । नभन्दै तालीवानीले सत्ता कब्जा गरे । सबै देशका एम्बेसीहरु नै उठ्यो । अमेरिका, युके जस्ता धनी देशहरुले त्यहाँ रहेका आ–आफ्ना कार्यालयमा काम गर्नेहरुलाई आफ्नै देशको जहाज लगेर उद्धार गर्न थाले । हामी पनि त्यसरी नै यहाँ आइपुगेका हौँ ।’
अहिले लण्डनमा उनीजस्ता करिब दुईसय जना नेपाली छन् । सबैलाई अलग–अलग राखेको छ ।
व्यवस्थित तबरले काम गर्नेहरुलाई सम्पन्न मुलुकहरुले व्यवस्थित तबरले नै उद्धार गरेपनि अब्यवस्थित रुपमा त्यहाँ पुगेकाहरु समस्यामा रहेका उनले बताए । ‘हामी त वैधानिक रुपमा त्यहाँ गएका थियौँ त्यसैले सुरक्षित नै छौँ भन्नुपर्छ । जो अवैध रुपमा कामको खोजीमा त्यहाँ पुगेका छन्, उनीहरु साह्रै समस्यामा छन्’, थापा मगर भन्छन्, ‘उनीहरुलाई अबैध बाटोबाट त्यहाँ लगेर कसैले जागिर छोड्ला र अनि त्यो पदमा काम लगाइदिउँला भनेर लुकाएर राखेका हुन्छन् । अबैध रुपमा लुकेर बसेकालाई कसले उद्धार गर्ने ? उनीहरुलाई कसले बचाइदिने ? उनीहरुको अबस्था भने नाजुक छ ।’
संकटमा रहेका त्यस्ता व्यक्तिहरुलाई नेपाल सरकारले उद्धार गर्नुपर्ने उनको सुझाव छ ।




