
गोरखामा एकै दिन निषेधाज्ञा उलंघन गर्ने ३६ सवारी साधनलाई कारवाही
गोरखामा निषेधाज्ञा उलंघन गर्ने ३६ वटा सवारी साधन एकै दिन कारवाहीमा परेका छन् । सात वटा बोलेरो जिप, २५ वटा मोटरसाईकल, तीनवटा ट्रक र एउटा कारलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।
तीनवटा बोलेरो जिपलाई जिल्ला प्रशासन कार्यालयबाट पाँच÷पाँच हजार जरिवाना गरिएको र अन्यलाई ट्राफिक प्रहरीले जरिवाना सहित कारवाही गरेर छाडेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उलंघन गरेर चलेका ती सवारी साधन कारवाहीमा परेको ट्राफिक कार्यालयले जनाएको छ ।
कोरोना संक्रमण बढेपछि मंगलवारदेखि १० दिन गोरखामा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको आज दोस्रो दिन पनि गोरखा बजार सुनसान छ ।




