
उत्तरी गोरखाको लोक्पामा पहिरोले १६ वटा खच्चड पुरियो
उत्तरी गोरखाको लोक्पामा पहिरोमा १६ वटा खच्चड पुरिएको छ । मंगलवार चुमनुब्री गाउँपालिका ६ का चित्रबहादुर गुरुङको ८ र छेवाङ गुरुङको ८ वटा खच्चड पुरिएको डिएसपी प्रकाश दाहालले बताए ।
चुमनुब्री गाउँपालिका ६ स्थित डुयु खोलामा पाँच सय मिटर माथिबाट ढुङ्गा सहितको पहिरो खस्दा खच्चड पुरिएको सिर्दिबास प्रहरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सिर्दिबास चौकीबाट बुधवार प्रहरी पहिरो गएको ठाउँ पुगेर त्यहाँको अवस्था अध्ययन गरेर फर्किएको हो ।
छेकम्पार सामग्री पु¥याएर सिर्दिबास तर्फ ल्याउने क्रममा खच्चड पुरिएको हो । मानविय क्षती भने भएको छैन । खच्चड धपाउनेहरु भागेर ज्यान जोगाएका थिए । एउटा खच्चडको मूल्य एक लाख देखि माथि सम्म पर्छ ।
गत साउन २० गते डुयु खोलामा रहेको झोलुङ्गे पुल पनि पहिरोले बगाएको थियो । त्यसयता काठको फड्को बनाएर स्थानीय आउजाउ गर्ने, खच्चड ल्याउन लैजाने गरेका थिए । अहिले पहिरोले फड्के पनि बगाएको स्थानीयले बताएका छन् ।
पहिरोका कारण छेकम्पार आउजाउ गर्न स्थानीयलाई समस्या भएको स्थानीय निमा लामाले बताए । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा ढुवानीको मूख्य माध्याम खच्चड हो ।
खच्चड हिड्ने बाटो नभएपछि त्यहाँ खाद्यान्न हाहाकारको अवस्था आउने खतरा सँगै दैनिक गुजारा चलाउन समेत स्थानीयलाई समस्या हुने उनले बताए ।





