| सोमवार, कार्तिक २३, २०८३

१ गते रातीदेखि १० दिन गोरखामा लकडाउन : यातायात, बजार, बैंक सबै बन्द

कोरोना संक्रमणदर बढेपछि गोरखामा १० दिन ‘लकडाउन’ गर्ने निर्णय भएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आईतवार बसेको बैठकले १० दिन सबै गतिविधी बन्द गरेर कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने निर्णय गरेको हो ।


‘भदौ १ गतेरातीदेखि १० दिनका लागि बैंक, बजार, यातायात र सर्वसाधारणको भिड हुने सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेका छौँ’ प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भने । खाद्यान्न, तरकारी लगायतका अत्यावश्यक पसल बिहान पाँच देखि १० बजे सम्म खुल्न पाउनेछन् भने अत्यावश्यक सवारी साधन नियमित चल्न पाउनेछन् । सार्वजनीक निजी सवारी साधन पनि पूर्ण रुपमा बन्द हुनेछ ।

गोरखामा एक साता यता संक्रिय संक्रमितको संख्या करिब नौ सय सम्म पुगेको थियो । आईतवार पाँच सय भन्दाबढि छ ।
‘१० दिन को अवस्थापछि संक्रमण दर घटेको खण्डमा अर्को मोडालिटी अपनाउन सकिन्छ’ प्रजिअ शर्माले भने । जिल्ला प्रशासन कार्यालय, नापी, मालपोत जस्ता अड्डामा अहिले सेवाग्राहीको भिड लाग्ने गर्छ । ति अड्डाको सेवा पनि बन्द हुने भएको छ । कोरोना संक्रमण दर बढ्दा जोखिम बढेकाले संक्रमण रोक्न लकडाउन गरिएको प्रजिअ शर्माले बताए ।


तालिम, गोष्ठी, सेमिनार जस्ता सबैखाले कार्यक्रम स्थगित गरिएको छ । खेलकुद गतिविधी, जिमखाना, रेष्टुरेन्ट, चिया खाजा पसल सहितका सबै गतिविधी ठप्प पार्ने निर्णय बैठकले गरेको छ । अत्यावश्यक आउजाउ गर्नुपर्नेको हकमा जिल्ला प्रशासनले जारी गरेको पास लिनुपर्नेछ । निर्माण सामग्रीका गाडी नियमित संचालन हुनेछ भने दुई जना मात्र सवार हुनुपर्नेछ ।


गोरखा नगरपालिका भित्रका बैंकले सम्पर्कको आधारमा सेवा दिने र अन्य पालिकाको हकमा पालिकाले निर्णय गर्ने प्रजिअ शर्माले बताए । कोरोना सँग मिल्दोजुल्दो लक्षण भएकाको पिसिआर जाँचलाई तिब्रता दिने र निषेधाज्ञा उलंघन गर्नेलाई संक्रामक रोग ऐन अनुसार कारवाही गर्ने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्