| सोमवार, कार्तिक २३, २०८३

गोरखामा पनि खुल्न थाले विद्यालय

कोभिडको कारण लामो समयदेखि बन्द रहेको विद्यालय खुल्न थालेका छन् । गोरखा धार्चे चुमनुब्री लगायत पालिकामा विद्यालय खुलेका छन् भने केही विद्यालयले भौतिक उपस्थितीमा सिकाई केन्द्रमा विद्यार्थीलाई पठन पाठन गराएका छन् ।


धार्चे गाउँपालिकाले वडा, ब्यवस्थापन समिति र विद्यालयलाई कोरोनाको जोखिम पहिचान गरेर विद्यालय खोल्न भनेको थियो । सोही अनुसार जोखिम कम भएको वडाका विद्यालयले भौतिक उपस्थितीमा कक्षा संचालन गरिरहेको शिक्षा शाखाका प्राविधिक सहायक मञ्जु पौडेलले बताईन । अधिकासं विद्यालय धार्चेमा खुलेको छ । ‘सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न भनेका छौँ’ उनले भनिन् ।


चुमनुब्री गाउँपालिकामा पनि विद्यालय खुलेका छन् । विद्यार्थी कम भएका विद्यालयले सिकाईलाई निरन्तरता दिईरहेका छन् । गाउँपालिकाले भने विद्यालय खोल्न निर्देशन गरेको छैन ।
सिरानचोक गाउँपालिकाले सिकाई केन्द्रमा विद्यार्थीलाई पठन पाठन गर्ने अभ्यास सुरु गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए । ‘सानो संख्यामा समुह बनाएर पठन पाठन सुरु गरेका छौँ, तर त्यो विद्यालयमा नभई सिकाई केन्द्रहरु संचालन गरेका हौँ’ उनले भने ‘बिस्तारै अन्य विद्यालयमा पनि सुरु हुन्छ ।’


यो शैक्षिक सत्र सुरु भएयता विद्यार्थीले भौतिक रुपमा पढ्न पाएका थिएनन् । कोरोनाको जोखिम कम भएको ठाउँ र बैकल्पिक माध्यामको संभावना नरहेको ठाउँमा भौतिक उपस्थितीमा पठाउनुपर्ने माग शिक्षकहरुको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड बिपरित हुने भन्दै जिल्ला प्रशासनले विद्यालय खोल्न अनुमती दिएको छैन ।


बैकल्पिक माध्यामबाट सिकाई सहजिकरण गर्न स्थानीय तहले विद्यालयहरुलाई निर्देशन गरेपनि सबै विद्यार्थीको पहुँचमा इन्टरनेट नहुँदा प्रभावकारी सिकाई हुन सकेको छैन । ग्रामिण भेगका अधिकासं विद्यालयमा इन्टनरेन राम्रो नहुँदा शिक्षकहरुलाई पढाउनै समस्या छ ।

प्रतिक्रिया दिनुहोस्