| सोमवार, कार्तिक २३, २०८३

निषेधाज्ञा गर्न दुई सय कुर्ने गोरखाका प्रजिअ नौ सय संक्रमित पुग्दा के गर्दैछन् !

दरौँदी : बैशाख तेस्रो साता संक्रमितको संख्या एक सय ९८ हुँदा जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला भर कडा खालको निषेधाज्ञा जारी गरेको थियो । दुईसाता यता गोरखामा कोरोना संक्रमण दर भयावह हुँदै जाँदा गोरखा प्रशासनले संक्रमण नियन्त्रण र रोकथाममा चासो दिएको छैन ।


अहिले सक्रिय संक्रमितको संख्या आठ सय ८० छ । दैनिक चेकजाँच भएकोमा संक्रमण पुष्टि हुने दर ३४ दशमलव ३४ प्रतिशत छ । मंगलवार मात्रै एक सय २५ जना संक्रमित थपिएका छन् । तर संक्रमण रोकथाम र न्यूनिकरणको तयारी दुई सय संक्रमित हुँदा भन्दा निकै कमजो र फितलो छ ।


पहिले जिल्ला भित्र सक्रिय संक्रमित दुई सय पुगेपछि पहाडी जिल्लामा निषेधाज्ञा गर्न सक्ने प्रावधान गृहमन्त्रालयले बनाएर सिडिओलाई अधिकार दिइएको थियो ।

संक्रमणदर दुई सय नपुग्दा सम्म गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग््रााम शर्मा पौडेललाई निषेधाज्ञा गर्न चौतर्फी अनु्रोध गर्दा दुई सय नजिक तथ्याङ्क पुगेपछि मात्रै उनले चैत तेस्रो सातादेखि निषेधाज्ञा लागु गरे ।
अहिले गोरखाको एउटै स्थानीय तहमा सक्रिय संक्रमितको संख्या दुई सय नाघेको छ । तर जिल्ला भित्र पहिले जस्तो कोरोना रोकथाम र नियन्त्रणका अभ्यास कम भएका छन् ।

पालुङटार नगरपालिकामा सक्रिय संक्रमित दुई सय एक जना छन् । गोरखा नगरपालिकामा एक सय ८८, आरुघाटमा एक सय ७९, भिमसेन थापामा एक सय १९ सक्रिय संक्रमित छन् ।


सिरानचोक गाउँपालिकामा ७९, अजिरकोटमा ४६, बारपाक सुलिकोटमा ३२, चुमनुब्रीमा २०, शहीदलखनमा १०, धार्चेमा पाँच, गण्डकीमा एक जना सक्रिय संक्रमित छन् । आरुघाट, भिमसेन, पालुङटार नगरपालिका भित्रका केही वडाले काम नै बन्द गराएका छन् ।
जिल्लामा कडा खालको निषेधाज्ञा जारी गर्ने, बढ्दो संक्रमणदरको चेनब्रेक गर्न सार्वजनीक सवारी, बजार, बैंक, बित्तिय संस्था, सर्वसाधारणको भिड हुने अड्डामा सेवा रोक्ने तयारी छैन ।

जिल्लामा निषेधाज्ञा जारी गर्ने अधिकारी सिडिओ सँग मात्र हुन्छ । यस अघिको कोरोना संक्रमण दर हेर्दा चेनब्रेक अर्थात केही समय बन्द हुँदा संक्रमण घटेको र बन्द खुलेपछि बढेको देखिन्छ ।


‘कोभिड १९ संकट ब्यवस्थापन अध्यादेश २०७८’ मा सिडिओले जिल्लामा कोभिड १९ रोकथाम र नियन्त्रण, निदान र उपचारका लागि आवश्यकता अनुसार स्थानीय प्रशासन ऐन २०२८ को अधिकार समेत प्रयोग गर्न सक्ने उल्लेख छ । जिल्ला भित्र निषेधाज्ञा लगाउन कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको सिफारिस नै जरुरी पर्दैन ।


प्रमुख जिल्ला अधिकारी राजनीतिक दल, स्थानीय जनप्रतिनिधिको मुख ताकेर तत्काल बन्द गर्दा अवजस आउने डरले कडा निषेधाज्ञा गर्न उनीहरुको समर्थन खोजीरहेका छन् । गोरखा भित्रने नाका मझुवा, आरुघाट, पालुङटार, घ्याल्चोक लगायत ठाउँमा पहिले जस्तो सुरक्षाकर्मी र स्वस्थ्यकर्मीको निग्रानी पनि छैन ।

संक्रमितको संख्या गोरखामा मात्र होईन देशब्यापी बढेको छ । काठमाण्डौँका अस्पताल भरिएका छन् । संक्रमण ब्यापक भएपछि निषेधाज्ञालाई कडा बनाउँदै लगिएको छ । तर गोरखामा एकै जिल्लामा सक्रिय संक्रमित एक हजार नजिक हुँदा कडाइएको कुनै संकेत छैन ।
सार्वजनीक सवारी, बजारमा भिड छ ।

मास्क अनिवार्य लगाउन भन्दै समुह बनाएर मानिस भेटघाट गर्दै हिँडेका छन् । यसले कोरोना संक्रमणदर बढेको छ । बित्तिय संस्थामा भौतिक दुरी कायम राखिएको छैन । स्वास्थ्य सुरक्षाका मापदण्ड सरकारी, गैर सरकारी कार्यालय, ब्यापारी ब्यवशायीले पनि पालना गरेका छैनन् । सर्वसाधारण नागरिक पनि बिना मास्क गन्तब्यतर्फ हिँडिरहेका देखिन्छन् ।
गोरखामा १९ जना कोभिड अस्पताल र ७ जना आइशोलेसनमा उपचाररत छन् । अहिले सम्म २६ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् ।

चार हजार आठ सय १९ जनाले कोरोना जितेका छन् ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु हुँदा जति स्थानीय तहहरु पनि अहिले चनाखो छैनन् । पहिले भन्दा स्थानीय तहको तयारी पनि कमजोर देखिन्छ । समुदायमा कोरोना संक्रमण फैलने खतरा बढेको जनप्रतिनिधिहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्