| सोमवार, कार्तिक २३, २०८३

प्रोकबासीले स्याप्रु नाचेर गरे दियालो युगलाई विदाइ, विजुलीलाई स्वागत


चुमनुब्री गाउँपालिका ४ (साविक प्रोक गाविस)का बासिन्दाले परापूर्व कालदेखि बाल्दै आएको दियालोलाई विदाइ गरेका छन् । स्थानीय दामदक खोलाबाट उत्पादन गरिएको ८० किलोवाट विजुली घरघरमा बाल्न थालेपछि गाउँलेले धुमधाम नाचेर खुशी मनाएका छन् ।


कादुरी एग्रिकल्चरल एड एशोसिएशन ब्रिटिश गोर्खा नामक गैरसरकारी संस्थाले प्रोक जलविद्युत आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरेपछि गाउँलेहरु धुमधामले नाचेर खुशीयाली मनाएको वडाअध्यक्ष पेमाडुण्डुप लामाले बताए । ‘घरघरमा बिजुली बाल्न पाएपछि गाउँलेहरु बिहान आठबजेदेखि राती तीनबजेसम्म स्याप्रु नाचेको नाच्यै गरेर रमाइलो गरे’, लामाले भने, ‘यसअघि सल्लाको दियालो बाल्ने गर्थे । अहिले घरमा बल्ब झुण्डिएपछि बल्बलाई ढोगेर रमाइलो गरे ।’

घरघरमा विजुली बत्ती बाल्न पाएपछि नाचेर खुशी मनाउँदै चुमनुब्री ४ प्रोकबासी . तस्वीर : पेमाडुण्डुप लामा ।

यसअघि छिमेकी वडा नं २ ल्हो, वडा नं. ५ बिही र वडा नं. १ सामागाउँका बासिन्दा विजुलीबत्तिको उपभोग गरिसकेका थिए । ‘वरिपरि जताततै विजुली बत्ती बालिसकेका थिए तर हाम्रो वडाका बासिन्दा अहिलेसम्म पनि सल्लाको दियालो बाल्न बाध्य थिए । कोहीकोही हुनेखानेका घरमा सोलार बत्ती थियो’, लामाले भने, ‘त्यसैले मेरो कार्यकालभित्र विजुली बत्ती बाल्छु भनेर सपना देखेको थिएँ । आज सपना साकार भएको छ । कादुरीलाई धन्यवाद दिन चाहन्छु ।’


अब दियालोलाई बिदाइ गरी सहरबजारमा जस्तै विजुली बत्ती बाल्न पाउँदा गाउँलेको खुशीको सीमा रहेन । ‘घरभित्र विजुली बत्ती बलेको देख्दा असाध्यै खुशी लागेर बलिरहेको बत्ति समाउँ–समाउँ लाग्छ, फेरि छुन डर लाग्छ’, स्थानीय टासीछिकी लामाले भनिन्, ‘अब त हाम्रो गाउँघर पनि सहर बजारजस्तै उज्यालो देखियो ।’ दाताले दिएको तर चलाउन नपाएको कुटानी, पिसानी मिल पनि अब चलाउन पाइने उनले बताइन् ।
सो आयोजनाबाट उत्पादित बत्ति प्रोक, गप, क्वाक, छाक, बुर, बन्द्रुङका करिब ३१४ घरमा बल्ने कादुरी संस्थाले जनाएको छ । छवटा टोलका एकहजार तीनसय ३३ जना विद्युत सेवाबाट प्रभावित हुने कादुरीको भनाइ छ ।

उपभोक्ता समितिका अध्यक्ष तथा वडा अध्यक्ष पेमाडुण्डुप लामालाई आयोजना हस्तान्तरण गर्दै कादुरका अधिकारीहरु । तस्वीर : पेमाडुण्डुप लामा ।


गत मङ्सीर आठगतेबाट निर्माण आरम्भ भएको आयोजना आठ महिनामा गत साउन २३ गते निर्माण सम्पन्न भएको हो । सात करोड ७६ लाख ५६ हजार रुपैयाँमा निर्माण सम्पन्न आयोजना गत आइतबार उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । कादुरीका सिनियर प्रोजेक्ट मेनेजर मिश्र चौधरीले वडा अध्यक्ष तथा उपभोक्ता समितिका अध्यक्ष पेमाडुण्डुप लामालाई आयोजना हस्तान्तरण गरेका हुन् ।


हस्तान्तरण कार्यक्रममा कादुरी संस्थाका सिनियर प्रोजेक्ट मेनेजर चौधरी, प्राजेक्ट मेनेजर देवेन्द्र श्रेष्ठ, वडाअध्यक्ष लामा, वडा सदस्य रिग्जिन दोर्जे, निर्माण समितिका सचिव निमा ग्याल्बो लामा, पेमा ग्याल्बो लामा, नुर्बु साम्दुक लामाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्