
गाँजा फाड्दै गोरखा प्रहरी
गोरखा प्रहरीले गाँजा फडानीलाई तिब्रता दिएको छ । जिल्ला प्रहरी कार्यालय वरपर मात्र मात्र होईन मातहतका प्रहरी पनि अहिले गाँजाको बोट खोज्दै नष्ट गर्दै गरिरहेका छन् ।
लागु औषधको रुपमा अत्याधिक प्रयोग हुने गाँजाको बोट काटेर फालेपछि लागुऔषधको रुपमा कम प्रयोग हुने उद्देश्यले प्रहरीले बस्ती, जंगल र सर्वसाधारणको खेतवारीमा भएको गाँजा फाँड्ने गरेको छ ।
आर्थिक वर्ष २०७७÷७८मा अभियानको रुपमा गाँजा फडानी गरेको गोरखा प्रहरीले गोरखा नगरपालिकाकाले नारेश्वर र गण्डकी गाउँपालिकाको घ्याल्चोकमा धेरै गाँजा नष्ट गरेको थियो । अन्य पालिकामा पनि प्रहरी चौकीहरुले गाँजा फडानी गरेका थिए । करिब ९२ हजार बोट गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।
साउन महिनामा पनि प्रहरीले करिब दुई हजार बोट गाँजा बिभिन्न पालिकाको भिन्न भिन्न ठाउँमा नष्ट गरेको छ । यसरी नष्ट गरिएको गाँजा आफैँ उम्रिएका हुन् । ब्यवशायीक रुपमा गाँजा खेतीगर्ने प्रचलन छैन । लागु औषधको रुपमा बिक्री बितरण हुने, युवाहरुले ओसापोसार र प्रयोग गर्ने क्रम बढेपछि प्रहरीले आफैँ उम्रिएको गाँजा पनि नष्ट गर्न थालेको हो । केही वर्षदेखि गोरखा प्रहरीले जिल्लाभर यो अभियान चलाईरहेको छ ।




