
गोरखा नगरपालिकाद्धारा २२ परिवारलाई आधुनिक आरन बितरण
फलामका घरेलु औजार बनाउने आरनलाई संरक्षण गर्दै आरन व्यवसायलाई गोरखा नगरपालिकाले प्रवद्र्धन गर्ने जमर्को गरेको छ ।
आरन व्यवसायलाई आधुनिकीकरण गर्दै यसको संरक्षण गर्ने उद्देश्यले नगरपालिकाले नगरक्षेत्र भित्रका बिभिन्न २२ व्यवसायीलाई आधुनिक आरन सहयोग गरेको जनाएको छ ।
आर्थिक बर्ष २०७७/०७८ मा बिनियोजित तीन लाख रुपैयाँले उनीहरुलाई आरन उपलब्ध गराइएको हो ।
नगरपालिकाको बिभिन्न वडामा सञ्चालनमा रहेका आरनको आधुनिकीकरणसंगै संरक्षण गर्न र पुस्ता हस्तान्तरणका लागि कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख राजनराज पन्तले बताए ।
‘परापूर्व कालदेखि परम्परागत उद्योगका रुपमा सञ्चालन हुदै आएको आरन अब लोप हुने अवस्थामा पुग्न लागेकाले यसको संरक्षण गर्नु नगरपालिकाको पनि दयित्व हो’ उनले भने ।
उनले नयाँ पुस्तामासमेत यो सिप, ज्ञानलाई हस्तान्तरण गर्न जरुरी रहेको बताए । नगरपालिकाले आरन संरक्षणका लागि भन्दै केही समयअघि सार्वजनिक सूचना प्रकाशित गरी निवेदन माग गरेको थियो ।
नगरक्षेत्रका ४४ जनाले निवेदन पेश गरेपनि स्थलगत अध्ययन र निरीक्षण गर्दा २२ जना छनौटमा परेको सामाजिक शाखाकी शोभा दवाडीले बताइन् । निवेदनका आधारमा शाखाले घरघरमा पुगेर आरन सञ्चालनको अवस्थाका बारेमा अध्ययन गरेको र उनीहरुको माग आवश्यकता अनुसारका सामग्री सहयोग गरिएको उनले बताइन् ।
सहयोग गरिएको सामग्रीमा लि, वेल्डिङ मेसिन, घन, पङखा, ह्याम्मर, कटिङ मेसिन, कर्कट पाता लगायतका सामाग्री रहेको नगरपालिकाका सामाजिक शाखा प्रमुख विजयभक्त उपाध्यायले बताए । आरन बितरण कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष देवी बस्नेत, ११ का वडाध्यक्ष रामबहादुर खड्का, कार्यपालिका सदस्य लगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।




