| सोमवार, कार्तिक २३, २०८३

मास्क नलगाई हिड्ने ८२ जनालाई जरिवाना

मास्क नलगाउने ८२ जनालाई गोरखा प्रहरीले पक्राउ गरी एक सय रुपैयाँ जरिवाना तिराएर छाडेको छ ।

विश्वव्यापी रुपमा फैली रहेको कोभिड १९ महामारीको संक्रमणलाई फैलिन नदिनको लागि जिल्ला प्रहरी कार्यालय गोरखाले विभिन्न सरोकारवाला निकायहरुसंग समन्वय गरी जनचेतना मूलक काम सञ्चालन गरेको डिएसपी प्रकाश दाहालले बताए ।

जिल्लाका विभिन्न स्थानहरुमा मास्कको सुरक्षित तरिकाले अनिवार्य रुपमा प्रयोग गर्ने सन्देश सहितको तपाईको मास्क खोई ? कार्यक्रमहरु सञ्चालन गरी सचेतनामूलक कार्यक्रम, जिङ्गल मार्फत जानकारी गराउने, माईकिङ्ग गर्ने लगायतका कार्यहरु समेत निरन्तर भईरहेको उनले बताए ।

गोरखा बजार क्षेत्रका विभिन्न स्थानहरुमा मास्क नलगाई असुरक्षित तरिकाले स्वास्थ्य मापदण्डको पालना नगरी सार्वजनिक स्थान लगायतका स्थानहरुमा बेवास्ता गरी हिडडुल गर्ने पैदल यात्रु, व्यवसायी, मजदुर र सवारी चालक एवं यात्रुहरु लगायतलाई हाल सम्म एक सय रुपैयाँका दरले जरिवाना गरेको छ । कार्यालयले विगत छ दिन देखी हालसम्म गरेर जम्मा ८२ जनाबाट जरिवाना संकलन गरेको छ ।

गोरखा बजार क्षेत्र बाहेकका मुख्य बजार क्षेत्रमा समेत मास्क नलगाई हिडडुल गर्ने पैदल यात्रु, व्यवसायी, मजदुर र सवारी चालक एवं यात्रुहरु समेतलाई कारवाही गर्ने कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्