| सोमवार, कार्तिक २३, २०८३

अस्पतालको भ्याण्टिलेटरसहितको आईसियू प्रयोगबिहिन, गम्भीर बिरामी बाहिर रिफर


जिल्लामा १० जना कोभिड संक्रमित पुष्टि भएपछि गोरखा अस्पतालमा गतबर्ष दुईवटा भ्याण्लिेटर जडित आइसियू तयार गरिएको थियो ।


९० लाख रुपैयाँको लागतमा २०७७ सालको जेठ २५ गते भ्याण्टिलेटर जडित आईसियू तयार भएपनि अहिलेसम्म सञ्चालनमा नरहेको गोरखा अस्पतालले जनाएको छ । अस्पतालमा भ्याण्टिलेटरसहितको आइसियू नभएपछि गम्भीर प्रकृतिको बिरामीलाई अस्पतालले चितवन, काठमाडौँ, पोखरा रिफर गर्ने गरेको छ ।


भ्याण्टिलेटरसहितको आईसियू भएर पनि गम्भीर प्रकृतिका बिरामीलाई बाहिर जिल्लामा लानु दुखद भएको सरोकारवालाहरुको भनाइ छ ।

‘देशभर कोरोना फैलिरहेको अबस्थामा गतबर्ष केन्द्र सरकारको आग्रहमा प्रदेश सरकारले हरेक जिल्ला अस्पतालमा भ्याण्टिलेटरसहितको आईसियू तयार गर्दा हामी सबै एकदम खुशी थियौँ’, स्थानीय महिला नेतृ सम्झना देवकोटा भन्छिन्, ‘अब कोभिडबाट सिकिस्त भएकाहरुमध्य कम्तिमा दुईजनालाई त आइसियू सेवा दिन सकिने भयो भन्ने लागेको थियो, तर यत्तिका समय भइसक्दा पनि सेवा सुरु नगर्नु अस्पतालको अकर्मण्यता हो । हामीले प्रयोगमा ल्याउनु प¥यो भनेर पटक पटक ताकेता ग¥यौँ । अझै प्रयोगमा आएको छैन । यो अस्पताल प्रशासन, व्यवस्थापन समितिको कमजोरी हो ।’

जिल्लामै सेवा हुँदाहुदै सिकिस्त भएका बिरामीलाई जिल्ला बाहिर लैजानुपर्दा कतिपय बिरामी बाटैमा मरिरहेका पनि छन् ।’ यस बिषयमा अस्पताल प्रशासन, विशेष गरी प्रमुख जिल्ला अधिकारीले चासोका साथ काम गर्नुपर्ने उनको सुझाव छ । ‘सरकार हेरफेर भए पनि कर्मचारी त स्थिर नै हुन्छन् । अहिले पनि बिरामी बढिरहेका छन् । सिकिस्त भएकाहरुलाई रिफर गरिरहेको छ’, उनी भन्छिन्, ‘म दुईवटै बेड सञ्चालनमा ल्याएर कोभिडसँग लड्न अस्पताललाई आग्रह गर्छु । यसका लागि दबाब सिर्जन ागर्न सम्बन्धित निकाय, विशेष गरी सिडियोसाबलाई आग्रह गर्छु ।’


अस्पतालले भने आवश्यक पूर्वाधार, उपकरण र दक्ष जनशक्ति अभावका कारण आईसियू सञ्चालन गर्न नसकेको दाबी गर्ने गरेको छ ।

‘आईसियू भनेको पर्याप्त उपकरण, पूर्वाधार र जनशक्तिसहितको एकाइ हो, जुन हामीसित अहिले छैन’, अस्पतालका सूचना अधिकारी कृष्ण ढकाल भन्छन्, ‘आईसियूभन्दा केही कम सेवाको एचडियूचाहिँ हामीले प्रयोग गरिरहेका छौँ । नयाँ भवन बन्ने क्रममा रहेकाले अस्पताल अहिले डाक्टरको क्वाटरमा चलिरहेको छ, जहाँ आइसियूका लागि उपयुक्त कोठा छैनन् । भइरहेको कोठाहरु आइसियूका लागि उपयुक्त छैनन् । आईसियूका लागि फिजिसियन, एनेस्थेसिया, तालिमप्राप्त नर्स छैनन् । एबिजी मेसिन छैन । अब निर्माण कम्पनीले नयाँ भवन एक महिनापछि बुझाउँछौँ भनेको छ । त्यहाँ चाहिँ आइसियू सञ्चालन हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्