
छिम्केश्वरी र सञ्जिवनी पानी गोरखामा निषेध
छिम्केश्वरी र सञ्जिवनी ब्राण्डको खानेपानी गोरखामा बिक्री वितरणमा रोक लगाइएको छ । पानीमा अखाद्य बस्तु भेटिएको भन्दै जिल्ला प्रशासन कार्यालयले दुबै ब्राण्डको पानी बिक्री बितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
‘नेपाल सरकारको अनिवार्य मापदण्ड विपरीत देखिएकाले आँबुखैरेनी ६ तनहूँबाट उत्पादित छिम्केश्वरी र सञ्जिवनी ब्राण्डको एक लिटर बोत्तलको पानी गोरखामा बिक्री बितरण नगर्न, नगराउनु हुन हामीले निर्णय सहित पत्राचार गरेका छौं’ प्रजिअ भट्टराईले भने ‘ती दुवै ब्राण्डका पानी क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा र जिल्ला खाद्य निरीक्षण इकाइ पोखरा पठाउँदा दुवै निकायबाट परीक्षण भई आउँदा शुद्धताको सुनिश्चितता नहुञ्जेलसम्मका लागि बिक्री वितरणमा रोक लगाइएको हो ।’
छिम्केश्वरी ब्राण्डको पानी कृति वेभरेज इण्डस्टिूजले र सञ्जिवनी ब्राण्डको पानी सुरज मिनरल वाटर उत्पादन प्रालिले उत्पादन गर्दै आएको थियो । गत चैत महिनामा गोरखाका उपभोक्ताले शिलबन्दी गरिएको पानीको बोत्तलभित्र चराको प्वाँख भेटेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए ।
उजुरीपछि दुवै प्रयोगशालाले अध्ययन गर्दा तत्कालका लागि दुवै ब्राण्डका पानी पिउन अयोग्य निष्कर्ष निकालेका हुन् । सो अध्ययन प्रतिवेदनसहित जिल्ला प्रशासन कार्यालयले सो पानी बिक्री वितरणमा रोक लगाउन गोरखा उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, जिल्ला प्रशासन कार्यालय तनहूँ र जिल्ला प्रहरी कार्यालय गोरखामा पत्र पठाइएको हो ।




