
बच्चालाई मास्क खै ? आमा मात्र लगाउँछन्, बच्चालाई लगाइदिदैनन्
प्रहरी(सुरक्षाकर्मी)को सामु लोकलाज ढाक्न मास्क लगाउने अभिभावकले आफ्ना शिशु तथा बालबालिकालाई भने मास्क नलगाइदिने गरेको पाइएको छ । कोभिडको महामारीको उच्च जोखिममा रहेको अस्पताल र अस्पतालको पनि फिभर क्लिनिकमा समेत बच्चालाई मास्क नलगाई ल्याउने गरेको पाइएको हो ।
अस्पताल जस्तो जोखिम ठाउँमा आउँदा पनि आमाले आफू मास्क लगाउने, बच्चालाई नलगाइदिने गरेको अस्पताल आएका सर्व साधारणको भनाइ छ । ‘आफूले चाहिँ मास्क लगाउने, बच्चालाई चाहिँ नलगाइदिने कस्ता अभिभावक ?’,
फिभर क्लिनिकमा मास्क बिनाका बच्चा बोकेकी आमालाई देखेपछि एक बिरामी बिराज बरालले भने, ‘कोरोना बच्चालाई नलाग्ने रहेछ कि, बच्चालाई प्रहरीले, स्वास्थ्यकर्मीले कराउँदैनन् भनेर हो कि ? बच्चा बिरामी भए होओस् भनेर हो कि ?’ बच्चा झन बढि जोखिममा छन् भन्ने जान्दा जान्दै मास्क नलगाइदिएको भन्दै उनले खिन्नता व्यक्त गरे ।
त्यस्ता अभिभावकलाई अस्पतालमा खटिने प्रहरी तथा स्वास्थ्यकर्मीले सचेत गराउनु पर्ने उनको भनाइ छ ।
बजारमा पनि बच्चालाई मास्क नलगाई बोकेर हिड्ने गरेको प्रसस्त दृश्य देखिन्छ । ड्युटीमा खटिएका प्रहरीको गाली खाने डरले आफूले मास्क लगाए पनि बच्चालाई भने खुल्लामुख लिएर हिड्ने गरिएको हो ।
‘खुल्लामुख बच्चा लिएर हिड्नेहरु बच्चाको माया ममता नभएका आमा हुन्’, एक बटुवा सुष्मा श्रेष्ठ भन्छिन्, ‘आफूचाहिँ बाँच्ने, बच्चालाई चाहिँ नबचाउने ?’ बच्चालाई खुल्लामुख लिएर हिड्ने आमालाई प्रहरीले कारबाही गर्नुपर्ने उनको सुझाव छ ।




